योङ कम्युनिष्ट लिग कर्णालीको प्रथम सम्मेलन २९ बैशाखमाः अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने 

फोटोः विवशकुमार सेजुवाल

सुर्खेत। नेकपा ( माओवादी केन्द्र ) निकट युवा संगठन ’योङ कम्युनिष्ट लिग नेपालको कर्णाली प्रदेश प्रथम सम्मेलन २९ बैशाखमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

शनिबार योङ कम्युनिष्ट लिग नेपालले प्रदेश स्तरीय सम्मेलनको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सम्मेलन आयोजनाको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो ।

कर्णाली प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने यस भेलामा करिब १७५ जना प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक समितिका अनुसार भेलाले कर्णाली प्रदेश समिति निर्माण गर्नुका साथै आगामी नीति तथा कार्यक्रम पारित गर्नेछ।

भेलाको उद्देश्य कर्णाली प्रदेशस्तरीय प्रतिनिधिमार्फत राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट गर्नुका साथै देशमा बढ्दै गइरहेको भ्रष्टाचार, बेरोजगारी, कालोबजारी, लगायतका विषयवस्तुहरूमा युवाहरूको सक्रियता बढाउने रहेको छ।

युवा लिगले यो सम्मेलनलाई संगठन सुदृढीकरण, सामाजिक रूपान्तरण, उत्पादन र रोजगारीका विषयमा युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने अवसरका रूपमा लिएको आयोजकले जानकारी दिएको छ ।