कर्णालीका दुर्गम जिल्लामा दुर–चिकित्सा प्रभावकारीः विपन्न बिरामीका लागि वरदान

दुर–चिकित्सा मार्फत परामर्श गरिदै । फोटो जीवन सेजुवाल

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पुकी ७ वर्षीया हिमा लामालाई छालामा देखिएको रोगले लामो समयदेखि हैरान पारेको थियो। उपचारका लागि परिवारले उनलाई तीन दिन पैदल हिँडेर जिल्ला अस्पताल पु¥याए। अस्पतालका चिकित्सकले हिमाको अवस्था सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गरे। विशेषज्ञको सल्लाहअनुसार एक हप्तासम्म निगरानीमा राखी औषधोपचार गरेपछि हिमा अहिले पूर्ण स्वास्थ्य लाभ प्राप्त गरेकी छन्।

हुम्ला सिमिकोट गाउँपालिका–७ का ११ वर्षीय अभिषेक सिंहलाई ज्वरो र खोकीले थला पारेपछि उनका हजुरबुवाले जिल्ला अस्पताल पु¥याए। त्यहाँका चिकित्सकले सिंहको समस्या पनि सुर्खेतका विशेषज्ञसँग भिडियो संवादमार्फत राखे। सुझावअनुसार औषधी सेवन र निगरानीमा राख्दा अभिषेकको स्वास्थ्यमा सुधार आएको छ।

यी दुई घटनाहरू कर्णालीका हजारौँ विपन्न बिरामीहरूको प्रतिनिधि मात्र हुन्। दुर्गम भूभाग, अपूरो स्वास्थ्य सेवा र औषधीको अभावले विगतमा लाखौँ खर्च गरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौं हुँदै भारतका लखनउजस्ता शहर पुगेर उपचार गर्न बाध्य भएका नागरिक अहिले भने आफ्नै जिल्लामा राहत अनुभव गरिरहेका छन्।

कर्णाली प्रदेशका पाँच जिल्ला — मुगु, हुम्ला, डोल्पा, जाजरकोट र कालिकोटमा जिल्ला अस्पतालका साथै मुगुस्थित रिउ, बगरा र बामा स्वास्थ्य चौकीमा सञ्चालन भएको दुर–चिकित्सा (टेलिमेडिसिन) सेवाले दुर्गम बासिन्दाको पीडा घटाउन सफल भएको छ।

दुर्गमको ठूलो समस्या – स्वास्थ्य सेवा

कर्णालीका यी पाँचै जिल्लामा सडक र स्वास्थ्य दुवै दुर्लभ छन्। गाउँघरमा उपचारको व्यवस्था नहुँदा बिरामी लिएर दिनभर हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अझै पनि समाप्त भएको छैन।

मुगु जिल्ला अस्पतालका प्रमुख डा. निर्मल नगरकोटीका अनुसार दुर–चिकित्सा सेवाले धेरै बिरामीलाई सजिलो बनाएको छ। “अस्पतालमा भएका चिकित्सकहरूले अब सुर्खेतका विशेषज्ञसँग प्रत्यक्ष भिडियो संवाद गरेर उपचार सल्लाह पाउँछन्,” उनी भन्छन्, “यसले उपचारको गुणस्तरमा उल्लेख्य सुधार आएको छ।”

डोल्पा जिल्ला अस्पतालका डा. अखण्ड उपाध्याय भन्छन् —यो सेवा विशेष गरी छाला र मानसिक रोगका बिरामीका लागि निकै प्रभावकारी साबित भइरहेको छ। हाल यो सेवा ओपीडी समयमा मात्र सञ्चालन हुन्छ । तर अन्य समयमा पनि विस्तार गर्न सके अझ उपयोगी हुने देखिएको छ।

हिमालपारिबाट सुर्खेतका डाक्टरसँग संवाद

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ का १९ वर्षीय दलबहादुर रोकायको टाउकोमा झगडाका क्रममा चोट लाग्दा उनको परिवारले सिटीस्क्यानका लागि नेपालगञ्ज पु¥याउने तयारी गरिरहेका थिए। तर अस्पतालले भिडियोमार्फत सुर्खेतका विशेषज्ञसँग सल्लाह गरेर जिल्ला स्तरमै उपचारको व्यवस्था ग¥यो।

उनका बाबु धनबीर रोकाय भन्छन हामीले भिडियोमा छोराको अवस्था डाक्टरलाई देखायौँ, सुर्खेतबाटै औषधी र उपचारको सल्लाह पाइयो। यदि यो सेवा नभएको भए, नेपालगञ्ज पु¥याएर फर्किँदासम्म डेढ लाख खर्च हुने थियो।

त्यस्तै, सोही गाउँपालिका–४ का दीपबहादुर शाहीलाई आँखामा चोट लागेको थियो। जिल्ला अस्पतालमा आँखाका विशेषज्ञ नभएकाले उनलाई अस्पातलले अन्यत्र रिर्फर गर्छकी भन्ने डर थियो। तर जिल्ला अस्पतालका चिकित्सकले भिडियोमार्फत सुर्खेतका नेत्र रोग विशेषज्ञसँग सम्पर्क गरि उपचार गरेका छन्। शाही भने पहिला लाग्थ्यो—उपचार नेपालगञ्जमै गर्नुपर्छ। अहिले भिडियोमै समस्या बताउँदा गाउँकै अस्पतालले उपचार गर्छ।

दुर–चिकित्सा मार्फत परामर्श गरिदै ।

विपन्न बिरामीका लागि वरदान

डोल्पा ठुली भेरी नगरपालिका–३ का ३१ वर्षीय युवराज थापा वर्षौँदेखि मानसिक रोगसँग लडिरहेका थिए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार सम्भव थिएन।

तर, दुर–चिकित्सा सेवाबाट भिडियोमार्फत विशेषज्ञसँग परामर्श पाउँदा अब उनी निरन्तर उपचारमा छन्। उनका बुवा नवराज थापा भन्छन्,हामी गरिबहरूका लागि यो सेवा साँच्चै वरदान हो। पहिले पैसाको अभावले छोराको उपचार गर्न सकेका थिएनौँ, अहिले भने घर नजिककै अस्पातलमा निःशुल्क उपचार पाइरहेका छौँ।”

मुगु कार्मारोङ गाउँपालिका–६ का पेमा सेराप लामाले पनि पाँच वर्षीया छोरीको उपचार यसै सेवाबाट गर्न सके। छोरीको शरीरमा फोका उठ्ने र ज्वरो आउने समस्या थियो। गाउँकै सामुदायिक अस्पतालले भिडियोमार्फत सुर्खेतका चिकित्सकसँग परामर्श ग¥यो।

पेमाका अनुसार आर्थिक अभावले सदरमुकामसम्म लैजान सक्दिनथेँ, तर अहिले गाउँमै उपचार भयो। हाम्रो लागि यो चमत्कारसरह हो।

महिलाहरू बढी लाभान्वित

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र छाँया नेपालको साझेदारीमा २०८१ साल चैत्र २५ गतेदेखि सञ्चालनमा आएको यो सेवाबाट हालसम्म १ हजार ४ सय ७ जना बिरामीले उपचार पाएका छन्।

तीमध्ये ७ सय ११ जना महिला र ६ सय ९६ जना पुरुष रहेका छन्।कर्णाली प्रदेश अस्पतालका टेलिमेडिसिन अपरेटर नरेन्द्र बहादुर चन्द्रका अनुसार जाजरकोटबाट ४ सय २७, डोल्पाबाट ३ सय ५, हुम्लाबाट २ सय ७८, कालिकोटबाट २ सय ३६ र मुगुबाट १ सय ६१ जनाले यो सेवा लिएका छन्।

टेक्नोलोजीले दुर्गमलाईदिएको आशा

पहिले जहाँ सामान्य उपचारका लागि पनि तीन–चार दिन पैदल यात्रा र हजारौँ खर्च गर्नुपर्ने बाध्यता थियो, अहिले त्यहीँ गाउँमा बसेर विशेषज्ञको सल्लाह पाउन सकिन्छ।

कर्णालीका हिमालपारी बस्तीहरूमा अहिले पनि अस्पताल पुग्ने बाटो कठिन छ । तर दुर–चिकित्सा सेवाले गाउँमै जीवन र आशा दुवै जगाइदिएको छा—याँ नेपालका कार्यकारी निर्देशक कमल थापाले बताए ।