सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भौतिक संरचनाको अभाव हुन नदिने बताएका छन् ।
मंगलवार कर्णाली प्रदेश गौरवको आयोजना प्रदेश रंगशालाको निरिक्षण गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितबाट कर्णाली प्रदेशले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि झण्डा ग्रहण गरेसँगै अहिले कर्णाली प्रदेशमा प्रदेशको गौरवको आयोजना प्रदेश रंगशालासँगै प्रदेशका विभिन्न जिल्लामा खेलकुद पूर्वाधार निर्माण भईरहेका छन् ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी पाएको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार नभएका कारण उक्त प्रतियोगिता हुदैन की ? भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री शाहीले कर्णालीले केहि गर्न सक्दैन भन्ने बाहिर गलत बुझाइ रहेका कारण यस्तो प्रश्न उब्जीएको बताए ।
‘कर्णाली प्रदेश भनेको सुर्खेत मात्रै होइन २०४३ सालमा हुम्लामा जुडो खेलको राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यो बेला राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने कर्णालीले अहिले गराउन सक्दैन भन्ने हुन्छ ? ‘मुख्यमन्त्री शाहीले भने, ‘आवश्यक परे हामी प्रदेश सरकारको तर्फबाट बजेटको व्यवस्थापन गर्छौ अपुग भए जताबाट भए पनि पहल गर्छौ तर भनेको समयमा नै प्रतियोगिता हुन्छ ।’
१० औं राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने भएपछि अन्तर्राष्ट्रिय चासो पनि बढेको भन्दै मुख्यमन्त्री शाहीले पैसाको कारण कर्णालीमा काम नरोकिने बताए ।
झिल्को खबर । १३ मंसिर २०७९, मंगलवार २१:०९