सुर्खेत । २० वर्षमुनिको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि पुरुषतर्फ कर्णाली रग्बी क्लबले जितेको छ ।
इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५–५ अन्तरले कटारी रग्बी क्लबलाई हराउँदै उपाधि जितेको हो ।
यस्तै महिलातर्फ हेटौँडाले १४–५ ले हिमालयन टाइगर रग्बी क्लबलाई हराउँदै उपाधि जितेको छ ।
विजेता टोलीलाई नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिएको छ भने उपविजेता बनेका टोलीले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई माई नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार रकम प्रदान गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौँडाकी पुष्पा खड्का घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे ।
नेपाल रग्बी संघको आयोजनामा भएको प्रतियोगिता कोशी प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ इलाम र माई नगरपालिकाको सहजीकरण रहेको थियो ।
प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी थिए ।
प्रतियोगिताबाट आगामी अगस्टमा नेपालमा हुने यु–२० एसिया रग्बी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनोट हुनेछ ।
झिल्को खबर । २८ जेष्ठ २०८०, आईतवार ०७:४०