१९ औँ एशियाली खेलकुद प्रतियोगितासुरू,कर्णालीबाट ५ खेलाडी सहभागी

सुर्खेत । चीनको झेजियाङ प्रान्तको हाङ्झाउ सहरमा शनिबारदेखि१९ औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड) सुरू भएको छ ।

प्रतियोगितामा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन्। एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गरेका थिए ।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा विशेष अतिथीको रुपमा सहभागी भए ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता रहेको छ। ‘भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर)’ मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्झाउ सहर दुलही झै सिंगारिएको छ। हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ।

एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ। प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरूष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा कर्णालीका पाँच खेलाडी सहभागी

चीनको हाङझावमा आयोजना भएको १९ औं एसियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट उसुका दिपक हमाल र कराँतेकी एलिसा रास्कोटी मगर सहभागि छन् । त्यस्तै विभागीय टिम शसस्त्र प्रहरी बलकी पुष्पा भण्डारी, नेपाल प्रहरीकी राजपुरा पछाई र नेपाली सेनाका राजन रोकाया पनि सहभागी छन् । भण्डारी सल्यान, पछाई र रोकाया जुम्लाका हुन् ।

कर्णाली प्रदेशबाट सहभागी हमाल र रास्कोटी मगर को हुन् ?

दिपक हमाल ः०५१ सालमा सुर्खेतको छिन्चुमा जन्मेका दीपक हमालले २०७६ साल मंसीर १५ गतेदेखी २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा स्वर्ण जितेका थिए । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका हमालले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन्। यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजतमा चित्त बुझाएका थिए । त्यस्तै २०७९ असोज २८ गतेदेखि ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हमालले उसुमा स्वर्ण पदक जितेका थिए । उनलाई कर्णाली प्रदेश सरकारले पुरस्कृत समेत गरेको थियो ।

एलिसा राष्कोटी मगर ः सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ की २२ वर्षीया एलिसाले २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमुते र काता दुवैमा कांस्य पदक जितेकी थिइन् । त्यही सफलताको सम्मानमा प्रदेश सरकारले उनलाई २ लाख रुपैयाँले पुरस्कृत गर्यो। यसअघि उनले कृष्ण प्रसाद भट्टराई खेल महोत्सव २०७९ को अवसरमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललिपतुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगितामा एकल कातामा रजत पदक जितेकी थिइन्। तीन वर्षअघि १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एकल कातामा रजत पदक जितेकी चन्चला दनुवारसँग फाइनलमा एलिसा पराजित भएपनि कडा टक्कर दिएकी थिइन । फाइनलमा चन्चलाले २४.५० अंक प्राप्त गर्दा एलिसाले २३.६८ अंक जोड्न सफल भएकी थिइन्।

उद्घाटन समारोहमा सदस्य सचिवअतिथिको रुपमा सहभागी

चीनको हाङ्झाउ सहरमा सुरू भएको १९ औँ एशियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल पनि सहभागी भएका छन् । उनलाई हाङझाव एसियाली खेल आयोजक कमिटीले १९ औं एसियाली खेलकुद प्रतियोगितामा अतिथिको रुपमा निमन्त्रणा गरेकोछ ।सदस्य सचिव संज्याल शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।