सुर्खेत । भुकम्पमा परी घाइते भएका जाजरकोट र पश्चिम रुकुमका २९ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
भुकम्प प्रभावित क्षेत्रबाट आज ३० जना विरामी रिफर भएर प्रदेश अस्पताल सुर्खेत आए पनि एक जना डिस्चार्ज भइसकेको प्रदेश अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।
प्रदेश अस्पताल सुर्खेतमा उपचारत भुकम्प प्रभावित क्षेत्रका घाइतेहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिन नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्का शनिवार अपरान्ह प्रदेश अस्पताल सुर्खेत पुगे । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै मन्त्री खड्काले सबै घाइतेहरुलाई नआत्तिन आग्रह गरे ।
‘सरकारले निशुल्क उपचार गरिदिन्छ तपाईहरु नआत्तिनु होला बरु केहि असुविधा भए भन्नु होला सरकार तपाईहरुको साथमा छ, ‘मन्त्री खड्काले भने,’ ‘अस्पतालमा कार्यरत चिकित्सकहरुलाई समेत उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिए ।’
एक सय विरामी अझै धान्न सक्छौ अस्पताल निर्देशक प्रा.डा. खड्का
प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले भुकम्प प्रभावित क्षेत्रका घाइते विरामीहरुको उपचारको लागि प्रदेश अस्पताल तयारी अबस्थामा रहेको बताए ।
‘आज दिनभर हामि सबै उद्धार र समन्वय गर्न तिर लाग्यौ अहिलेसम्म प्रदेश अस्पतालमा जम्मा ३० जना विरामी आएका थिए जस मध्य २९ जना विरामी भर्ना भएका छन् भने एक जना डिस्चार्ज भइसकेका छन्,’ ‘निर्देशक प्रा.डा.खड्काले भने, ‘अझै पनि हामी एक सय बिरामीहरुलाई अहिले भएको जनशक्ति र अस्पतालको भौतिक क्षमताले धान्न सक्छौ त्यो भन्दा बढि भयो भने जनशक्ति माग गर्नु पर्ने अबस्था आउन सक्छ ।
विरामीहरुको उपचार अस्पताल र सरकारले निशुल्क गरिरहेको भन्दै प्रा.डा खड्काले विरामीहरुलाई केहि समस्या परेमा अस्पताल प्रशासनसँग समन्वय गर्न आग्रह गरे ।
विवशकुमार सेजुवाल । १८ कार्तिक २०८०, शनिबार २०:१८