कालिकोट । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कालिकोट जिल्लालाई खेलकुदको क्षेत्रमा अन्तराष्ट्रिय रुपमा चिनाउने गरी खेलाडीलाई मेहनत गर्न निर्देशन दिएका छन् ।
मंगलवार कालिकोट जिल्लाको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्न गृह जिल्ला पुगेका नेता शाहीले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेशको पहिलो सरकारले खेल क्षेत्रलाई नै महत्व दिएकाले खेल क्षेत्रमा ठुलो लगानी गरेको स्मरण गर्दै नेता शाहीले कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहहरुमा नै एक सुविधा सम्पन्न रंगशाला बनाउने निति लिएको तत्कालिन सरकारको योजना अहिले कार्यन्वयन भइरहेको बताए ।
कालिकोट जिल्लामा खेलकुदको धेरै सम्भावना रहेकोले अब कालिकोट जिल्लाका खेलाडीहरुले कालिकोट जिल्लालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन धेरै मेहनत गर्नु पर्ने बताए । खेल क्षेत्रको हुने लगानीको लागि संघीय सरकारका तर्फबाट हुने लगानीको लागि आफु निरन्तर लागिरहने बताउदै नेता शाहीले खेल क्षेत्रका भौतिक संरचना निर्माणका लागि आफु पहल गर्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले खेलकुद क्षेत्र विकासको लागि कर्णाली प्रदेशमा खेलकुद कानुन बनिरहेकाले आउने दिनमा खेल क्षेत्रमा लाग्ने युवा विद्यार्थीहरुको लागि पहिलेको जस्तो दुख खेप्नु पर्ने दिन नआउने बताए ।
खेलाडीको जग भनेको नै विद्यालय भएकोले विद्यालय स्तरबाट खेलाडीहरुले मेहनत गर्न जरुरी भएको बताए ।
झिल्को खबर । २१ कार्तिक २०८०, मंगलवार २०:४४