सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पकै कारण कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा असर नपर्ने बताएका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको १५ औं वोर्ड वैठक बस्नुअघि सोमवार मुख्यमन्त्री शर्माले खेलकुदका बारेमा विभागिय मन्त्री खड्क बहादुर पोखरेल र परिषदका सदस्यसचिव विश्वासमित्र सञ्ज्याललाई विभिन्न निर्देशन दिएका हुन ।
मुख्यमन्त्री शर्माले कर्णालीमा क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिन निर्देशन दिदैं त्यसकालागि आवश्यक बजेटको प्रदेश सरकारले व्यवस्थापन गर्ने बताए ।
उनले १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिएको हुनाले अब कर्णालीमा खेलकुदका लागि आवश्यक पर्ने समग्र खेलकुदको विकासका योजना बनाउन समेत निर्देशन समेत दिए ।
नवौं राष्ट्रिय खेलकुद पोखरामा भएको थियो । दशौं हामीले आयोजना गर्दैछौं । त्यसकालागि आवश्यक सबै तयारी तीव्र रुपमा गर्नुहोस, भूकम्पले कतै असर पार्छ कि भन्ने कुरामा चिन्ता नलिनुहोस । भूकम्पले केहि असर पार्दैन, मुख्यमन्त्री शर्माले भने ।
उनले दशौं खेलकुदमा कुन कुन खेल खेलाउने, कहाँ खेलाउने र त्यसको कति लागत लाग्छ भन्ने बारेमा तत्काल अध्ययन गरि अघि बढ्न परिषदलाई निर्देशन दिए ।
‘हामी पर्यााप्त बजेट दिन्छौं भनेर भन्दापनि प्रतियोगिता आयोजना गर्न र संरचना निर्माण गर्नका लागि नभइनहुने बजेट व्यवस्थापन गर्न तयार छौं ।’ मुख्यमन्त्री शर्माले भने,’ रंगशालाहरु निर्माण गर्ने, जिल्लामा खेलकुदको विकासका लागि बजेट पठाउने, तयारी गर्ने देखि विभिन्न जिल्लामा रहेका खेलकुद संरचनालाई आवश्यक मर्मत एवम सम्भार गर्न आवश्यक निर्णय वोर्ड वैठकबाट गरेर अघि बढनुहोस । त्यसकालागि सरकारले के गर्नुपर्छ, सरकार तयार छ ।’
झिल्को खबर । ४ मंसिर २०८०, सोमबार १३:२०