सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ८१ बैशाखसम्म कर्णाली प्रदेशले क्रिकेटको राष्ट्रिय प्रतियोगिता गराउने बताएका छन् ।
सोमवार प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । ‘कर्णाली खेल क्षेत्रमा विस्तारै अघि बढ्दै छ हामी त्यसको लागि तयारी तिब्र पार्दै छौ, ‘मुख्यमन्त्री शमाले भने,’ ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले हिजोभन्दा फरक नतिजा ल्याउछ भन्नेमा म विश्वस्त छु ।’
मुख्यमन्त्री शर्माले अहिले कर्णाली सरकार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको बताउदै यसपश्चात कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गर्न तिर लाग्ने बताउदै आज शुभारम्भ भएको क्रिकेट मैदान तोकिएको समय भित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्याले कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि ५ ‘प’को निति तथा कार्यक्रम साँच्चिकै कार्यन्वयन हुँदै जाने भने अब आउने ९० को दशक नेपालको सबै खेलहरुमा कर्णालीका बर्चश्व हुने विश्वास व्यक्त गरे ।
नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काले ०८१ बैशाखबाट कर्णालीका क्रिकेट खेलाडीहरुले आफ्नै मैदानमा क्रिकेट खेल्न र राष्ट्रिय स्तरका प्रतियोगिता गर्न आत्मगत क्षमता बलियो भएकाले कर्णालीका क्रिकेट खेलाडीहरुको लागि आजको दिन निकै स्मरण योग्य दिन भएको बताए । उनले क्रिकेट खेल मैदान निर्माणको लागि पहल गरेकोमा कर्णाली प्रदेश खेलकुद विकास परिषद,सामाजिक मन्त्रालय साथै कर्णाली प्रदेश सरकारलाई धन्यावाद दिए ।
७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्याण्ड स्केप गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।
निर्माणको जिम्मा के.पी.डी.डी कन्ट्रक्सन वीरेन्द्रनगर सुर्खेतले लिएको छ ।
उक्त क्रिकेट मैदान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कपमा सहभागिता जनाउने महिला क्रिकेट खेलाडीहरुलाई विदाई समेत गरिएको थियो ।क्रिकेट मैदान निर्माण कार्य शुभारम्भ गर्ने कार्यमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्का, जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी,लगायत खेलाडी र खेल सम्बद्ध पदाधिकारीहरुको उस्थितिमा भएको थियो ।
विवशकुमार सेजुवाल । २ पुष २०८०, सोमबार १२:१०