महेश नेपालीको एउटा चिठी डा.रामजी रामलाई

महेश नेपाली

 

प्रिय रामजी राम,

एमबीबीएसको अन्तिम परीक्षामा पास हुनुभएको खबरले औधी खुसी मिल्यो। तपाईंलाई बहुत धेरै बधाई छ। तपाईं आफैले भन्नु भएका जीवनका कयौं परीक्षाका त बाँकी नै छन्। ती परीक्षामा पनि हरेस नखाइ सफल हुनु शुभकामना छ।

जुन दिन बुबाले मरेको सिनो फाल्न अस्वीकार गर्नुभयो, सायद त्यो दिन नै सुन्दर सपना देखेको दिन थियो क्यारे। नत्र त आज पनि मरेको सिनोमै तपाईंहरुको भविष्य रुमल्लिरहेको हुन्थ्यो। तपाईको यहाँसम्मको यात्रामा बाधक बन्न बाँकी को रहे र रु ‘यदि तैंले डाक्टर पढ्न पाइस भने मेरो मुखमा गु हाल्दिनु’ भनेर समाजले हुंकार गरिरह्यो। अदालतको आदेश नहुँदासम्म कलेजले भर्ना नलिएर अटेरी बनिरह्यो।

लामो संघर्षका बाबजुद भर्ना हुँदा कलेजमा हैसियतको नाममा दुर्व्यवहार गरियो। तर, पनि तपाईं डगमगाउनुभएन। परिणाम आज तपाईं एमबीबीएस डक्टर हुनुभएको छ। यो कुरालाई हेर्दा तपाईंको संघर्ष इतिहासका ठूला क्रान्तिले दिएका सन्देशभन्दा कुनै पनि कोणबाट कम छैन।

आज तपाईं मधेसी चमार समुदायको पहिलो डाक्टर हुनुभएको छ। कर्णालीमा पहिलो पटक सेवा गर्न आउने डाक्टरको नाम पनि रामजी नै थियो। उहाँ रामजी गौतम हुनुहुन्थ्यो। तपाईंसँग दोस्ती गर्न मेरो लागि यो मिठो संयोग हो। जुम्ला जिल्ला अस्पताल स्थापना गरेर सेवा दिनुभएको उहाँ पछि बेलायत जानुभयो र उतै बित्नुभयो।

उहाँपछि लामै समय कर्णालीले डाक्टर पाएन। विशेषज्ञ डाक्टर पाएको त अस्ति भर्खर हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएपछि। जसरी कर्णालीले डाक्टर नपाएर लाखौं रोगी पीडितको चिहान बगायो, त्यसरी नै मधेसी सीमान्तकृत समुदायको चिहान कोसी र गण्डकी नदीहरुले पखाल्दैछन्। कोसी र गण्डकीको बोझ कम गर्न तपाईंको अहम् भूमिका हुनेमा विश्वस्त छु।

आज कर्णालीको जुम्लालाई डाक्टरको टन्टा छैन। तर, विकटको भूगोल डाक्टर खोज्दै मरेका बच्चाका लासहरु जमिनमुनि गाड्न विवश छ। अकालमा ज्यान गुमाउनेका चिहान पखाल्न उत्साहित छन्, कर्णालीका छालहरु। तर, देशका उत्कृष्ट भनिएका स्वास्थ्य संस्था विदेशका लागि डाक्टर उत्पादन गरिरहेछन्।

 

डा. रामजी राम

तपाईंले जनकपुर साहित्य महोत्सवमा कुनै एक समयको पेसाको आधारमा सधैंभरि उही थर लेखाउने मनुवादी संस्कृतिमाथि जुन खालको प्रहार गर्नुभयो त्यसले चिन्तन मनन गर्नेको मथिङगल हल्लाइदियो। अब थर कसरी लेख्ने भन्ने प्रश्न सधैंभरिलाई रहिरहनेछ। इतिहासको पाँग्रा कसरी अघि बड्छ हेर्दै जाउँला।

मधेस होस् या कर्णाली कथित तल्ला जात भनिनेको अवस्था दयनीय छ। घाउ उही हो। तर, उस्तै पीडा बोकेर भोट मधेस गरिरहेको कर्णाली समेत मौका पायो भने मधेसलाई हेप्न पछि पर्दैन। मधेस पनि फोहोरको पर्यायवाची बिम्ब ुजुम्लीु भन्न पछि पर्दैन। कर्णाली र मधेस दुबै ठाउँमा सामन्त छन्। जसले दलितलाई गर्ने व्यवहार उही हो। जसको सिकार तपाई हामी भयौं।

कर्णाली र मधेसले भोगेको विभेद उस्तै हो। तर, हप्काइ दप्काई बढी खानेमा मधेस अगाडि छ। मधेस बारेको हाम्रो धारणाको विकास सत्ताले निर्माण गरेको भाष्यको आधारमा बन्यो। त्यसैले अहिले पनि हामी मधेसलाई स्वच्छ आँखाले हेर्न सकिरहेका छैनौं।

हामी हिमालमा बस्नेहरुलाई हिउँदमा मधेसको हावापानी प्यारो लाग्छ। मधेसकै दाल चामलले भोको पेट भरिन्छ। कुना कन्दरामा गएर मधेसी शिक्षकले हामीलाई विज्ञान र गणित पढाइदिए। आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राम्रा चिकित्सक मधेसका छन्। यतिमात्र होइन खाली सिसि र प्लास्टिक उठाउन पनि मधेसी आउनुपर्छ। कपाल समेत मधेसीले नै काटिदिनुपर्छ।

व्यवहारमा ती नै मधेसीले विभेद भोगिरहनु परेको छ। यी सामाजिक समस्याको चिरफार कुनै एक रोगको विशेषज्ञबाट सम्भव नहोला। तर, सार्वजनिक मञ्चमा तपाईले उठाएको सवाल एक दिन सामाजिक क्रान्तिको बिम्ब बन्नेछ।

जसले गल्ली–गल्लीका थोत्रा कुकर बनाएरै डाक्टर बने

समग्रमा मधेस आफ्नै सामाजिक संरचना र बाहिरिया संरचनाबाट समेत विभेद भोग्न बाध्य छ। तपाईंले जनकपुर साहित्य महोत्सवमा बोलेको कुरा विद्रोहको सुरुवात हो। वर्तमान जात व्यवस्थामा आधारित समाजलाई गरेको तिखो प्रश्न हो।

यी यावत् समस्यालाई एकछिन किनारामा राखेर हेर्दा तपाईं रोगको निदान गर्ने डाक्टर बन्नुभएको छ। आगामी दिनमा एक विषयको दक्षता हासिल गरेको विशेषज्ञ चिकित्सक पनि हुनु हुने नै छ। तपाईंको दक्षताको लाभ तमाम जनताले लिन पाउनेछन्। तपाईंको शब्दलाई सापटी लिएर भन्दा तपाईंको छुवाईले बिरामीलाई चङ्गा बनाउने छ।

देशले विशेष छात्रवृत्तिको दायरा फाराकिलो नबनाउन्जेल र त्यसलाई उपायोग गर्ने प्रक्रिया सहज नपारुन्जेलसम्म सीमान्तीकृत समुदायबाट डाक्टर, इन्जिनियर बन्न मुस्किल छ। तपाईंको अनुभवले यही देखायो। साधारण जनताले सहज रुपमा सस्तो उपचार पाउन झन् कठिन छ। तपाईंहरुजस्ता डाक्टरहरुले जनताको सेवा कसरी गर्नु होला रु प्रश्न त तपाईंलाई पनि आउने नै छन्।

अन्तमा पत्रलाई धेरै लामो नबनाई यति भन्छु, फूलहरु झर्नलाई उम्रन्छन् भन्नुभन्दा उम्रनलाई झर्छन भन्नुले आशा जगाउँछ। तपाईबाट मधेससँगै कर्णालीले समेत आशा धेरै आशा गरेको छ। आगामी दिनका लागि शुभकामना।

महेश