सुर्खेत । यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टले पाएकी छन् । यदु स्मृति प्रतिष्ठान रुकुमले २५ औं स्मृति दिवसको अवसर पारेर विष्टलाई पुरस्कृत गरेको हो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले विष्टलाई १५ हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।
यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।
उनको स्मृतिमा हरेक वर्ष फागुन २१ गते एक जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । पुरस्कृत पत्रकार विष्टले पहिला र अहिले पत्रकारिता गर्ने शैलीमा परिवर्तन आएको बताइन् । ‘यदु स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदा खुसी लागेको छ, लामो समयदेखि पत्रकारिता गर्दै आएकी म पहिला र अहिले पत्रकारिता गर्ने तरिका परिवर्तन भएको छ भने डिजिटल माध्यमले थप सहजता थपेको छ,’उनले भनिन् ।
झिल्को खबर । २१ फाल्गुन २०८०, सोमबार १२:२३