कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

फाइल तस्बीर ।

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधबार हुने प्रदेशको कार्यालयले जनाएको छ ।

कँडेललाई नेकपा (एमाले) का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो। जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन्।

कँडेलले मुख्यमन्त्रीमा भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन। सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूले पाउनुपर्ने माग अघि सारेपछि भागबन्डामा कुरा नमिलेको जनाइएको छ।

प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो। १० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि नेतृत्वसहित सरकारमा जान लागेको हो। उतिबेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका छन् ।

कँडेल कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा सरकारमा सहभागि भएका हुन् ।