शिखर धवनले अर्धशतक बनाए पनि कर्णाली याक्स काठमाडौंसँग पराजित

फोटो कर्णाली याक्स् फेसबुक पेजबाट

सुर्खेत । भारतीय चर्चित खेलाडी शिखर धवनले अर्धशतक बनाए पनि कर्णाली याक्स नेपाल प्रिमियर लिगमा लगातार दोस्रो हार व्यहोर्न पुगेको छ । काठमाडौं गुर्खाजले पहिलो जित निकाल्ने क्रममा कर्णाली याक्सलाई तीन विकेटले हरायो । कर्णालीको यो लगातार दोस्रो हार हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले पूरा २० ओभरमा पाँच विकेट गुमाउँदै १४५ रनको लक्ष्य प्रस्तुत ग¥यो । प्रत्युत्तरमा काठमाडौंले तीन बलअघि सात विकेट गुमाउँदै जित निकालेको हो ।

अन्तिम दुई ओभरमा २१ रन चाहिएको अवस्थामा थियो । क्रिजमा कप्तान करण केसी र सुमित महर्जन थिए । कर्णालीका कप्तान सोमपाल कामीले १९औँ ओभरमा नौ बल खेल्दै समान दुई छक्का र चौका प्रहार गरेका करण केसीलाई देव खनालबाट क्याच आउट गरे । सोमपालले १४ रन खर्चिए । अन्तिम ओभर लिएर कर्णाली याक्सका नन्दन यादव आए । सात रन चाहिएको अवस्थामा सुमित यादवले फिनिसरको भूमिका खेल्दै काठमाडौंलाई जित दिलाएका हुन् । सुमितले ३७ बलमा सर्वाधिक ४० रन बनाए ।

पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेट र काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएका थिए ।

काठमाडौंका लागि अलराउन्डर जेरार्ड इरास्मसले २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । यसअघि २२ रन बनाएका ओपनर माइकल लेभिटलाई नन्दन यावदको बलरमा शिखर धवनले क्याच गरेका थिए ।

ओपनर शंकर राना ६, स्टेफन इस्किनाजी तीन, भीम सार्की नौ रन बनाएर पेभिलियन फर्किएका थिए ।

कर्णाली याक्सका लागि सोमपाल, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान एक विकेट हात पारे ।

यसअघि कर्णालीका लागि भारतीय चर्चित खेलाडी शिखर धनवले ५२ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ७२ रन बनाए । उनले पूरा २० ओभर नै खेलेका थिए । एनपिएलको आफ्नो दोस्रो खेलमा धवनले ४२ बलमा समान तीन चौका र छक्कासहित ५१ रन बनाएका हुन् । १७.५ ओभरमा उनले अर्धशतक बनाउँदा कर्णालीले पाँच विकेट गुमाउँदै १२४ रन बनाएको थियो । पहिलो खेलमा जनकपुरविरुद्ध धवनले १४ रन बनाएका थिए ।

कर्णाली याक्सले पावर प्लेमा सुस्त सुरुवात गर्दै दुई विकेट गुमाएर ३९ बनायो । धवनले मात्रै ६ बल खेलेर चार रन बनाएका थिए । धनवसँगै ओपनिङमा आएका देव तीन बल खेलेर डआउट भए । तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाएका हुन् ।

बाबर हायत पनि १९ बलमा एक चौकासहित १० रनमा पेभिलियन पर्किएपछि ८.१ ओभरमा कर्णालीले तीन विकेट गुमाउँदा मात्र ४९ रन बनाएको थियो । पाँच नम्बर क्रिजमा आएका गुल्सन झा पनि १९ बलमा एक चौकासहित १२ रन बनाएर क्याचआउट भए ।

१४.३ ओभरमा पाँचौँ विकेटको रूपमा चार रन जोेडेका अर्जुन घर्ती आउट हुँदा कर्णालीले जम्मा ८४ रन जोड्यो । ओमानका जिसन मक्सुदले ११ बलमा १४ रन बनाए ।

काठमाडौं गुर्खाजका लागि नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरास्मसले दुई विकेट लिए । कप्तान करण केसी, नाथन सोब्टर, दीपेश कँडेलले समान एक विकेट लिएका थिए ।

आज नै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ ।