कर्णालीमा मनाइयो ११औँ विश्व माटो दिवस

सुर्खेत । कर्णाली प्रदेशमा ११औँ विश्व माटो दिवस मनाइएको छ। ‘माटोको सुधारः परिक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा माटो दिवस वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ।

कार्यक्रममा बोल्दै एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायाले नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेको पाँचखालमा घुम्ती माटो परिक्षण प्रयोगशालाबाट स्थलगत माटो परिक्षण गरी विश्व माटो दिवस मनाउन शुरु गरिएको बताए।

प्रमुख रोकायाले सोही समयदेखि हालसम्म प्रत्येक वर्षमा कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, नार्क, नेपाल माटो समाज तथा अन्य निकायहरुको साझेदारीमा विभिन्न क्रियाकलाप गर्दै विश्व माटो दिवस मनाउँदै आइएको र कर्णालीमा पनि दिवस मनाइएको बताए।

यस्तै, मन्त्रालयका सचिव टिकाराम थापाले प्रत्येक वर्ष ५ डिसेम्बलाई माटोको दिगो व्यवस्थापनको पैरवी र माटोको महत्वबारे सचेतना जगाउने उत्सबमय दिन विश्व माटो दिवसका रुपमा मनाउँदै आएको बताए।

रसायनिक मलको असंतुलिय प्रयोग, उपयुक्त सिंचाई प्रविधिको कमी, किटनासक बिषादीको अनियन्त्रिक प्रयोग एवं प्राङ्गारिक मलको न्युन प्रयोगका कारण खस्किदै गएको माटोको गुणस्तरबारे कृषक तथा आम नागरिकलाई जागरुक बनाउन विश्व माटो दिवसको छुट्टै महत्व रहेको सचिव थापाले बताए।

उक्त कार्यक्रममा बोल्दै भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि क्षेत्रका अगुवाहरु र माटो सम्बन्धि काम गर्ने निकायहरुले माटोको गुणस्तर बचाउँन सोच्नुपर्ने बेला आएको बताए। मन्त्री शाहले भने, ‘माटोको स्वास्थ्य बिग्रिन्दै गएको छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने खाद्य अस्वस्थले पिरल्ने देखिन्छ। त्यसैले पनि माटो सम्बन्धि सचेतना कार्यक्रम किसानको खेतबारीमा गर्न आवश्यक छ।’

मन्त्री शाहले माटोको गुणस्तर बचाएर राख्नुपर्ने सन्देश सञ्चारका साधनममार्फत तथा हरेक सार्वजनिक स्थलहरुबाट अभियान चलाएर जनचेतना फैलाउन सबैलाई आग्रह गरे।

यस्तै, मन्त्री शाहले आफुले मन्त्री पदको पदभार ग्रहण गरेकै दिन कर्णालीमा माटो परीक्षण सम्बन्धि गरेको निर्णय अनुसार नै सरकारले काम गरिरहेको बताए। उनले प्रदेशको माटोलाई कसरी स्वस्थ्य राख्ने भन्ने विषयमा कर्णाली सरकारले नीति बनाएर अगाडी बढेको दाबी गरे।

साथै खस्किदैन् गएको माटोको उब्जाउ क्षमतामा पुनः सुदृढ बनाउनु पर्छ भन्ने जनचेतना फैलाउनु आजको आवश्यकता बनेको मन्त्री शाहले बताए।