दुईदलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन ः देव गुरुङ

दमौली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले दुईदलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् ।

शनिबार तनहुँमा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनका नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए ।

महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेर गएको उपनिर्वाचनले पुष्टि गरिसकेको जिकिर गरे । त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।

“माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ । पार्टीलाई बलियो बनाउन लागौँ,” उनले भने ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आलेमगर, हरिबहादुर चुमानलगायत नेताले सम्बोधन गरेका थिए ।

बैठकबाट आउँदो फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरिएको नेता मनराज गुरुङले जानकारी दिए । रासस