मन्त्री भण्डारीले गोप्यरुपमा बिदाई गरे खेलकुद पदाधिकारी

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदका पदाधिकारीहरुलाई सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सोमवार गोप्यरुपमा विदाई गरेका छन् ।

उपाध्यक्ष प्रमोद हमाल,सदस्य–सचिव विश्वामित्र संज्याल,वोर्ड सदस्य टक्क बहादुर शाहीलाई मन्त्रालयमा बोलाई बिदाई गरेको मन्त्री भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका पदाधिकारीहरुको कार्याकाल ०८१ पौष ६ गते सकिएको सामाजिक विकास मन्त्रालयले केहि दिन अघि मात्र तत्कालिन सदस्य सचिव विश्वामित्र संज्याललाई पत्र मार्फत जानकारी गराएको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका पदाधिकारीहरुले आफ्नो पहिलो कार्याकालमा खेल पूर्वाधारको क्षेत्रमा होस् वा खेलाडी प्रोत्साहनको क्षेत्रमा होस् महत्वपूर्ण काम गरेकाले उनिहरुलाई सार्वजनिक कार्याक्रम गरेरै विदाई गर्नु पर्नेमा विभागिय मन्त्रलयले गोप्यरुपमा विदाई गरेको प्रति खेल सम्बद्ध सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् ।

यता कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले भने सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सञ्ज्याल, अन्य नियुक्त सदस्यहरूको सामाजिक विकास मन्त्रालयका तर्फबाट बिदाई कार्यक्रम गरिएको छ ।’

मन्त्री भण्डारीले खेलकुद विकास ऐन बमोजिम नियुक्त भएका कर्णाली प्रदेश खेलकुद विकास परिषदका पदाधिकारीहरुको पुस ६ गते ४ वर्षे अवधि पूरा गरेकाले सम्मान सहित विदाई गरिएको जानकारी गराएका छन् । उनले नयाँ सदस्य सचिव नियुक्त नहुन्जेल सम्मका लागि परिषदको काम कारबाही प्रभावित हुन नदिन मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत राम प्रसाद उपाध्याय लाई जिम्मेवारी दिएको जानकारी गराएका छन् ।