‘समृद्ध दैलेख’ गुरुयोजना निर्माणका लागि छलफल

सुर्खेत । दैलेखमा ‘समृद्ध दैलेख’ गुरुयोजना निर्माणका लागि बहस र छलफल गरिएको छ। ‘कृषि पर्यटन र पूर्वाधार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ गुरुयोजना निर्माण गर्न लागिएको हो। जिल्ला समन्वय समिति दैलेखको आयोजनामा शनिबार बृहत छलफल तथा बहस गरिएको छ।

उक्त गुरुयोजना निर्माणका लागि शनिबार भएको छलफलमा जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुमा निर्वाचित सांसदहरु, जिल्लास्थित विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरु र जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत विज्ञहरुको सहभागीता रहेको थियो।

गुरुयोजनाको कार्यपत्रमाथि कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले योजनाको स्वरुप राम्रो भएको बताउँदै सबै क्षेत्रका विज्ञहरुको सहभागितामा बजेट र सम्भाव्यताका विषयहरु समावेश गुर्नपर्ने सुझाव दिए।

मन्त्री शाहले कार्यक्रमको आयोजना हुनु धेरै राम्रो भएको भन्दै गुरुयोजना तयार गर्दा आर्थिक पाटोलाई पनि ध्यान दिनुपर्ने बताए। उनले भने, ‘हरेक योजनामा बजेटको कुरा जोडिन्छ। योजनामा कस्तो विषयबस्तु समावेश गर्ने, त्यसको बजेट कति हो, श्रोत के हो, त्यस्लाई पनि ख्याल गर्नुपर्ने हुन्छ।’

यस्तै, मन्त्री शाहले सामाजिक सुधार बिनाको समाज कल्पना गर्न नसकिने बताउँदै सामाजिक सुधारका विषयहरुमा (छुवाछुत, छाउपडी तथा बालविवाह) जस्ता कुरिती–कुसंस्कारहरुको अन्त्य गर्ने लगायतका विषयबस्तु योजनामा समावेश हुन आवस्यक रहेको बताए।

समावेशीताको पक्षलाई ख्याल गर्दै गुरुयोजनालाई विशेषज्ञसँग जोडेर अन्तिम रूप दिन मन्त्री शाहले अनुरोध गरे।

कार्यक्रममा उपस्थिति राजनीतिक दल, पालिका प्रमुख÷उपप्रमुख, पत्रकार लगायत सहभागीहरुले आफ्नो धारणा व्यक्त गरेका थिए।