सुर्खेत । नेपाल नर्सिङ संघ सुर्खेत शाखाले ६३ औं नर्सिङ दिवसको अबसरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गरेको छ ।
प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगर नगरपालिका भित्र विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले वीरेन्द्रनगर नगरपालिका ११ झुप्राको बादी समुदायका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ परिक्षण तथा सुगर प्रेसर जाँच गरिएको नेपाल नर्सिङ संघ सुर्खेत शाखाका बरिष्ठ सल्लाहकार सकुन्तला सापकोटाले जानकारी दिइन् ।
बरिष्ठ सल्लाहकार सापकोटाका अनुसार दिवसकै अबसरमा वीरेन्द्रनगर वडा नम्बर १ को जीवन विज्ञानको योग शिविरमा योगामा आउने महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ परिक्षण गरिएको छ ।
यसै गरी विभिन्न विद्यालयहरूमा मानसिक स्वास्थ्य, मर्यादित महिनावारी तथा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सन्दर्भमा स्वास्थ्य शिक्षाहरू दिइएको छ । नर्सको जननी अस्तित्व फ्लोरेन्स नाइटिङेल प्रति उच्च सम्मान गर्दै हार्दिक श्रद्धा सुमन सहित फुल माला अर्पण गरी नर्सिङ दिवस भव्य र सभ्य रुपले सम्पन्न भएको नेपाल नर्सिङ संघ सुर्खेत शाखाले जानकारी दिएको छ ।
झिल्को खबर । १५ माघ २०८१, मंगलवार १८:१०