त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयमाथि ५८ रनको जित निकाल्दै उपाधि उचालेको हो।
मध्यपश्चिमको जितमा दिवान पुनले अलराउन्ड प्रदर्शन गरे। उनले एक अर्धशतकसँगै बलिङतर्फ पनि तीन विकेट लिए। ब्याटिङमा दिवानसँगै विपिन खत्री चम्किँदा मध्यपश्चिमले भारतीय टोलीमाथि सहज जित निकाल्यो।
मध्यपश्चिमले १७६ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभर खेले पनि ९ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो। लखनउका ओपनर मनन कन्दपालले ५८ रनको अर्धशतकीय इनिङ खेले।
मननले ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। मध्य क्रमका हर्षवर्धन सिंहले १५ रन र यस वर्धन सिंहले १४ रनको योगदान दिए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मध्यपश्चिमले अनुशासित बलिङ ग¥यो। दिवानले तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। उनले चार ओभरमा २२ रन दिए। दिवान प्लेयर अफ द फाइनलमा पनि भए। राजकुमार शाहले दुई तथा दिनेश अधिकारी, सुवास भण्डारी र रवीन्द्रजंग शाहीले समान एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७५ रन जोड्यो। मध्यपश्चिमको सुरुवात राम्रो हुन सकेको थिएन।
३८ रनमा जोड्दा नै चार विकेट गुमाइसकेको थियो। तर, दिवान र विपिनले अर्धशतकीय इनिङ खेल्दै मध्यपश्चिमलाई राम्रो स्थितिमा पु¥याए। यी दुईले छैटौं विकेटका लागि ७२ रनको साझेदारी गरे। दिवान ५८ रनमा रनआउट भए। विपिन ५९ रनमा नटआउट रहे।
दिवानले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। २८ बलमा खेलेका विपिनको इनिङमा पाँच चौका र चार छक्का रह्यो। ओपनर निश्चल रावलले १९ र राजकुमार शाहले १५ रनको योगदान दिए। मध्यपश्चिमले अतिरिक्त १२ रन पनि पायो। लखनउले सात बलर नै प्रयोग ग¥यो। यद्यपि, सबै महँगा साबित भए।
अभिषेक सोनी, मनन र हर्षवर्धनले समान एक विकेट लिँदा अन्य विकेटविहीन भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी विपिन खत्री भएको जय नेपाल टी ट्वान्टी कपका प्रेस संयोजक अधिराज रेग्मीले बताए।
अधिराजका अनुसार विपिनले बेस्ट बलरको पुरस्कार पाए। विपिन प्रतियोगिताको सर्वाधिक विकेटकर्ता (११ विकेट) भए। उनले पाँच इनिङमा एक अर्धशतकसहित १०३ रन पनि जोडे।
त्रिवि विश्वविद्यालयका लोकेश बम बेस्ट ब्याट्सम्यान भए। उनी एक शतकसँगै सर्वाधिक रनकर्ता (२५३ रन) पनि हुन्। प्रतियोगिताको बेस्ट ब्याट्सम्यान लोकश र बलर विपिनले समान १० हजार रुपैयाँ पुरस्कार पाएको प्रेस संयोजक अधिराज रेग्मी जानकारी दिए।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएबापत पनि विपिनले थप १५ हजार रुपैयाँ पनि प्राप्त गरे। विजेता मध्यपश्चिमले १५ लाखसँगै ट्रफी र उपविजेता भारतीय टोली लखनउले १० लाख रुपैयाँ पाए।
विजेतालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेविसंघ सभापति दुजाङ शेर्पालगायतले पुरस्कृत गरे।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको यस प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेशका गरी कुल आठ विश्वविद्यालयले प्रतिस्पर्धा गरेका थिए।
बङ्गलादेशको एक, भारतको तीन र नेपालका चार विश्विद्यालयलले जय नेपाल कप टी ट्वान्टी प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन्।
झिल्को खबर । १५ माघ २०८१, मंगलवार २०:१९