अमेरिकामा हवाई दुर्घटना, ६७ जनाकै मृत्यु भएको आशंका

अमेरिकाको वासिंटन डिसीनजिकै अमेरिकी एयरलाइन्सको विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चारजना चालक दलका सदस्यसहित ६४ जना सवार थिए ।

बम्बार्डियर कम्पनीको सिआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिंटनतर्फ जाँदै थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयअनुसार राति ९ बजे वासिंटन रेगन नेसनल एयरपोर्टनजिकै दुई विमान एक–आपसमा ठोक्किएका थिए । घटनाको अनुसन्धान सुरु गरिएको छ ।

एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सिबिएसलाई बताएअनुसार सेनाको हेलिकोप्टरमा तीन सैनिक सवार थिए । ती सैनिकको अवस्था पनि स्पष्ट छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून् भनेर लेखेका छन् ।

पानीमा यात्रुको खोजीकार्य भइरहेको तर रातको समय, चिसोले जमेको पोटोम्याक नदीमा खसे ठिहि¥याउने पानीका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिंटनका अग्नि नियन्त्रक जोन डोनेलीले जानकारी दिए । ‘करिब ३०० आपत्कालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेका छन् । तर, उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाइ भइरहेको छ,’ डानेलीले भने । नदीमा खसेका यात्रु जीवित भेट्टाउने सम्भावना निकै कम देखिन्छ । विशेषज्ञका अनुसार ३० मिनेटभित्र हाइपोथर्मिया निम्त्याउन सक्नेसम्मको न्यून तापक्रम भएको नदीबाट ३० भन्दा बढी शव निकालिएको स्थानीय मिडियाले जनाएको छ ।

उता एयर ट्राफिक कन्ट्रोलरहरूले दुर्घटनाअघि अमेरिकी सेनाको हेलिकोप्टरलाई उक्त वाहन यात्रु विमानसँग ठोक्किने मार्गमा रहेको चेतावनी दिएको बताएका छन् । चेतावनीपछि हेलिकोप्टरमा सवार मानिसको सास रोकिएको आवाज सुनिएको तिनले बताए ।