त्रिकोणात्मक टी–२० आई सिरिजः नेदरल्यान्ड्ससँगको पहिलो भेटमै नेपाल निराश

नेपाली राष्ट्रिय महिला टोली अन्तर्राष्ट्रिय टी–२० खेलको पहिलो भेटमै नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजक नेपालसँगै नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी–२० आई सिरिज बिहीबारदेखि सुरु भएको छ ।

सिरिजको पहिलो खेलमा बलिङ र फिल्डिङमा चुक्दा नेपालले नेदरल्यान्ड्ससँग हारको सामना गरेको हो । नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाउँदै १५७ रनको विशाल योगफल खडा ग¥यो । प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १३७ रन बनायो । नेपालविरुद्ध पहिलो खेलमै नेदरल्यान्ड्सकी प्लेयर अफ दी म्याच रुबिन रिकेले अर्धशतकको योगदान दिएकी थिइन् ।

नेपालले शनिबार थाइल्यान्डसँग खेल्नेछ । नेदरल्यान्ड्सविरुद्ध युवा खेलाडीद्वय अलिशाकुमारी यादव र मनीषा उपाध्यायले अन्तर्राष्ट्रिय क्रिकेटबाट डेब्यु गरेका छन् । नेपालीकी कप्तान इन्दु बर्माले ब्याटिङमा राम्रो प्रदर्शन भए पनि फिल्डिङ र बलिङमा कमजोर भएको बताइन् । ‘ब्याटिङमा राम्रै प्रदर्शन भएको थियो, तर फिल्डिङ र बलिङमा सोचेजस्तो भएन,’ उनले भनिन् । नेदरल्यान्ड्सकी रिकेले नेपालको पिचमा खेल्न गाह्रो भएको बताइन् । ‘योजनाअनुसार राम्रो प्रदर्शन ग¥यौँ, नेपालविरुद्ध सुरुमा १४० रनसम्म बनाउने योजना थियो,’ उनले भनिन्, ‘यो स्कोर महिला क्रिकेटको लागि राम्रो हो ।’

चलेन नेपालको ब्याटिङ

प्रतिओभर ७.८ रनरेट पछ्याएको नेपालका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । पहिलो इनिङ्समा बलिङमा धर्मराएको नेपालले ब्याटिङमा पनि सम्हालिएर खेल्न सकेन । नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलको सामना गरी तीन चौकासहित सर्वाधिक २८ रन बनाइन् । नेपालको इनिङ्समा कविता जोशीले आक्रामक खेल प्रस्तुत गरिन् । उनले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रनको योगदान दिइन् । यू–१९ विश्वकप क्रिकेटमा अलराउन्ड प्रदर्शन गरेकी पूजा महतोले छैटौैँ नम्बरमा ब्याटिङको अवसर पाइन् । उनले ब्याटिङ फर्मलाई निरन्तरता दिँदै १४ बलमा २४ रन बनाइन् ।

नेपालको यू–१९ महिला टोलीकी कप्तानसमेत रहेकी पूजाले १४ बलमा समान दुई चौका र छक्का प्रहार गरेकी थिइन् । तल्लो क्रमका खेलाडीले ब्याटिङ सम्हालेको इनिङ्समा नेपालका शीर्ष र मध्यक्रम कमजोर देखियो । ओपनर सीताले सर्वाधिक रनको योगदान दिए पनि धेरै बल सामना गरिन् । ओपनर सम्झना खड्काले ११ बलमा एक चौकासहित जम्मा ९ रन बनाइन् । कप्तान इन्दु १० बलमा ७ रन बनाएर पेभिलियन फर्किइन् । नेदरल्यान्ड्सका कारोलाइन डी लिन्गे र इभा लेन्चले समान दुई विकेट लिए ।

रिकेले बनाइन् ४८ बलमा ५९ रन

पहिलो इनिङ्समा नेदरल्यान्ड्सका लागि चौथो क्रममा ब्याटिङ गरेकी रुबिन रिकेले ४८ बलमा आठ चौकासहित अविजित सर्वाधिक ५९ रन बनाइन् । आइरिसले १३ बलमा ३१ रनको अविजित योगदान गरिन् । रुबिन र आइरिसबिच पाँचौँ विकेटका नटआउट ४७ रनको साझेदारी भयो । नेदरल्यान्ड्सकी स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ र हेथर सिगेर्सले २३ रन बनाए ।

मनीषा र अलिशाले गरे डेब्यु

नेदरल्यान्ड्सविरुद्धको टी–२० आईमा दुई युवा खेलाडी मनीषा उपाध्याय र अलिशाकुमारी यादवले राष्ट्रिय महिला टोलीबाट डेब्यु गरेका छन् । धनगढीकी युवा खेलाडी उपाध्यायले गत साता मलेसियामा भएको आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेलेकी थिइन् । यू–१९ विश्वकपमा यादव विकेटकिपर थिइन् । उनलाई विकेटकिपिङ ब्याटरका रूपमा हेरिएको छ । खेलअघि दुवैलाई कप्तान इन्दुले डेब्यु क्याप दिएकी थिइन् ।

फिल्डिङ र बलिङमा चुक्यौँः इन्दु बर्मा, कप्तान, नेपाल

ब्याटिङमा राम्रै प्रदर्शन भएको थियो । फिल्डिङ र बलिङमा सोचेजस्तो भएन । हामी यसैमा चुक्यौँ । यसकारण पहिलो खेलमा पराजित भयौँ । फिल्डिङ र बलिङमा सुधार गर्न बाँकी धेरै ठाउँ छ । हाम्रा लागि सबै खेल महत्वपूर्ण छन् । अवसरलाई सदुपयोग गर्न सक्यौँ भने खेल जित्न सकिन्छ । नेदरल्यान्ड्सले राम्रो खेल्यो ।

नेपालमा खेल्न गाह्रो छः रोबिन रिके, खेलाडी, नेदरल्यान्ड्स
योजनाअनुसार राम्रो प्रदर्शन ग¥यौँ । सुरुमा १४० रनसम्म बनाउने योजना थियो । यो स्कोर भनेको महिला क्रिकेटका लागि राम्रो हो । लक्ष्य पूरा भएपछि खुलेर खेल्यौँ । यद्यपि, नेपालको वातावरणमा खेल्न गाह्रो छ । हामी अझै राम्रो खेल्न सक्छौँ । कुनै पनि टिमलाई कमजोर आँक्नुहुँदैन । नेपालले ब्याटिङमा पनि राम्रो प्रदर्शन ग¥यो । हामीले उत्कृष्ट खेल खेल्न सक्यौँ ।