सुर्खेत । कर्णाली प्रदेशका एक लाखभन्दा बढी किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
उक्त खोप अभियान आगामी माघ २२ गतेदेखी फागुनसम्म ६ गतेसम्म सञ्चालन हुने छ । जस अन्र्तगत सुर्खेत जिल्लाका मात्रै २५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । पहिलो चरणमा सुर्खेत जिल्लाका पाँच पालिकामा र दोस्रो चरणमा चार पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ । पहिलो चरणमा माघ २२ देखि २५ सम्म बिरेन्द्रनगर, भेरीगंगा, लेकबेसी नगरपालिका सहित चिङ्गाड र बराहताल गाउँपालिकामा खोप लगाइने र दोस्रो चरणमा माघ २७ देखि फागुन १ सम्म चौकुने, सिम्ता गाउँपालिका तथा पञ्चपुरी र गुर्भाकोट नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका जनस्वास्थ्य निरीक्षक तथा खोप फोकल पर्सन घनश्याम बुढाले बताए ।
निरीक्षक बुढाका अनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यो खोप दिइने बताए ।उनका अनुसार नेपालमा हरेक वर्ष २,१६९ महिलामा पाठेघरको क्यान्सर देखिने र १,३१३ जनाको मृत्यु हुने भएकाले एचपिभी खोप अभियान अन्र्तगत सुर्खेतका लक्षित ९० प्रतिशत किशोरीहरूलार्ई खोप दिने लक्ष्य राखिएको जानकारी दिए । साथै, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचार समेत सुनिश्चित गर्ने सरकारको योजना रहेको बताए ।
जिल्लागत तथ्यांकअनुसार सुर्खेतमा २८,३४०, दैलेखमा १८,०९१, जाजरकोटमा १५,९५२, सल्यानमा १४,५१३, रुकुम पश्चिममा १२,१०६, कालिकोटमा ११,९२३, जुम्लामा ८,८२९, हुम्लामा ३,७३६, डोल्पामा २,६४१ र मुगुमा ४,३७९ किशोरीलाई खोप लगाइने भएको छ ।
प्रदेश अस्पताल सुर्खेतका डा. सुवास शर्माले एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको र यो पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे । साथै, कर्णाली प्रदेश अस्पताल, सुर्खेतका निर्देशक डा.केशर ढकालले खोप लगाएपछि कसैलाई हल्का ज्वरो आउने, टाउको दुख्ने , तल्लो पेट दुख्ने , यौनीबाट गन्हाउने पानी बग्ने , रतm अल्पता हुने , कमजोर महसुस हुने जस्ता असर देखिए पनि केही समयमै ठीक हुने भएकाले नआत्तिन आग्रह गर्नुभयो । उहाँले खोपकै कारण जटिल प्रकारको समस्या देखिए तल्कालै समस्याको समाधान गर्न प्रदेश अस्पताल तयारी अबस्थामा रहेको समेत जानकारी गराए ।
यसैबिच, बिरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले पछिल्लो समय चिल्ला सडक र सुबिधा सम्पन्न भवनहरुलाई मात्र विकाश देख्ने गलत प्रचलन रहेको भन्दै सरकारले स्वास्थ जस्तो संबेदनशिल कुरालाई ध्यानमा राखेर संचालन गरेका यस्ता अभियानलाई पनी विकाशकै रुपमा लिनुपर्नेे बताइन । यस्तै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवं खोप अभियानका संयोजक गंगाराम सुनारले सरकारले ल्याएको यस अभियानलाई प्रभावकारी बनाउन सबै पक्षहरूबाट सहकार्य आवश्यक रहेको बताए ।
भगवती शाही । १८ माघ २०८१, शुक्रबार २२:०७