जव मन्त्री शाह सवार हेलिकप्टर ल्याण्ड गर्न खोज्दा मान्छेको भागाभाग भयो

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह सवार हेलिकप्टर ल्याण्ड गर्न खोज्दा अत्याधिक धुलो उडेका कारण मान्छेहरुको भागभाग भएको छ ।

जाजरकोट छेडागाड नगरपालिका ३ जन प्रिय माध्यमिक विद्यालयमा मन्त्री शाह सवार हेलिकप्टर अत्याधिक धुलो उडेका कारण ल्याण्ड गर्न नसक्दा दोस्रो ठाउँमा ल्याण्ड गरिएको थियो । यो घटना भने सोमवार अर्थात २१ माघको हो । मंगलवार हेलिकप्टर ल्याण्ड गर्दाकोे भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जाजरकोट छेडागाड नगरपालिकाले आयोजना गरेको पाँचौ मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता उद्घाटन गर्न मन्त्री शाह सोमवार हेलिकप्टर मार्फत जाजरकोट पुगेका थिए ।

नगरपालिकाको तर्फबाट मन्त्री शाहलाई प्रमुख अतिथिका रुपमा कार्यक्रम उद्घाटनका निम्ति निमन्त्रणा गरिएको छेडागाड नगरपालिका उप प्रमुख चन्द्र बहादुर थापाले जानकारी दिए । ‘उहाँ हाम्रो यस क्षेत्रको माननीयज्यू पनि हुनुहुन्छ त्यसैले हामिले प्रमुख अतिथिको रुपमा बोलाएका हौ,‘नगर उप प्रमुख थापाले भने,’ ‘हिजो नै प्रदेश स्थापना दिवसको लागि प्रदेश राजधानी सुर्खेत फर्किनु पर्ने भएका कारण आफ्नै खर्चमा हेलिकप्टर मार्फत आउनु भएको हो ।’

हेलिकप्टर ल्याण्ड गर्न खोज्दा कार्यक्रममा उपस्थित दर्शकहरु धुलाम्य भएको व्यवस्थापनको जिम्मेवारी समालेको जन प्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक जय बहादुर थापाले झिल्को खबरलाई जानकारी दिए ।

प्रधानाध्यापक थापाका अनुसार मन्त्री हेलिकप्टरबाट आउने की सडक मार्फत आउने भन्ने आफुलाई कुनै जानकारी नभएको र विहान ११ बजे मात्र हेलिकप्टर मार्फत आउन लागेको आफुले जानकारी पाएको बताए ।

‘हामि सबै धुलाम्य भयौ धुलोबाट बच्न स्कुलको पछाडी गएर हामि बच्यौ,‘जन प्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक जय बहादुर थापाले भने,’ ‘त्यसले गर्दा विद्यार्थीहरुलाई मात्र नभएर उपस्थित सबैलाई धुलोले असर ग¥यो ।’

यस विषयमा आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहसँग जानकारी लिन खोज्दा मन्त्री शाहले फोन रिसिभ गरेनन् । बरु आफ्नो पिएसओ मार्फत कुरा गर्न लगाए ।