काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको ५४ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन्। चितवनको साहारा सहकारी ठगीसम्बन्धीको मुद्दाका प्रतिवादी लामिछाने प्रभु बैंक ग्यारेन्टी बसेको कागजात पेश गरी रिहा भएका अदालतले जानकारी दिएको छ। उनलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। यसअघि कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख र रुपन्देहीमा १ करोड बैंक ग्यारेन्टी पेश गरेर उनी रिहा भएका थिए।
आदेशमा भनिएको छ, ‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४,००,०००।– (चौबन्न लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू) ।
चितवनस्थित साहारा सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपसहित लामिछानेविरूद्ध ठगीको मुद्दा दर्ता गरिएको थियो।
बुधबारदेखि सुरू भएको थुनछेक बहसमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।
जाहेरवालाकातर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेको थिए।
प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा.नारायणदत्त कँडेलले बहस गरेका थिए।
सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं शुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन्।
धरौटी बुझाएर रिहा भएलगत्तै अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको दावी गरे।
उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देबता जस्तै रहेको बताए। उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए।उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए।
झिल्को खबर । २४ माघ २०८१, बिहीबार २०:२९