कर्णालीको शैक्षिक विकासमा एसओएसको योगदान छः मुख्यमन्त्री कंडेल

सुर्खेत । कणाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णालीको शैक्षिक विकासमा एसओएस हर्मन माइनर विद्यालयको योगदान रहेको बताएका छन् ।

शुक्रवार एसओएस हर्मन माइनर विद्यालयको ३५ औं अभिभावक दिवस तथा खेल सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री कंडेलले यस्तो बताएका हुन् ।

उनले विद्यालयले विज्ञान र प्रविधिलाई शिक्षाको माध्यम बनाई गुणस्तरीय शिक्षा दिने गरेकोमा धन्यवाद दिदै शिक्षामा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे । ‘कर्णाली प्रदेश राजधानी सुर्खेतमा पछिल्लो समय हरेक विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन स्वच्छ प्रतिस्पर्धा गरिरहेका छन्,‘ मुख्यमन्त्री कंडेलले भने,’ ‘यसमा एसओएस हर्मन माइनर विद्यालय समय सापेक्ष विगतको जस्तै गरी अगाडी बढ्नु पर्छ ।’

सरकारी कानुन समयानुकूल निर्माण र परिमार्जन नहुँदा शिक्षा क्षेत्रमा अन्योल भएपनि विद्यालय सञ्चालकहरुले आफ्ना विद्यार्थीलाई असल संस्कारयुक्त शिक्षा प्रदान गर्नमा कमी हुन नदिनेतर्फ सदैव सचेत रहनुपर्ने भन्दै उनले अभिभावकहरुले पनि न्यायाधीशको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

एसओएस हर्मन माइनर विद्यालयले खेलकुदका माध्यमबाट असल नागरिक उत्पादन गर्नतर्फ सदैव प्रशंसनीय कार्य गर्दै आएकाले समाजले उत्तम विद्यालय पाएको महसुस भएको बताए । यही संस्कार सर्वत्र अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी एवं बालरोग विशेषज्ञ डा. नवराज के.सी. ले आफूले प्रारम्भिक शिक्षा देखि माध्यमिकसम्मको शिक्षा यहि विद्यालयबाट लिएको स्मरण गर्दै विद्यालयले बालबालिकाहरुलाई शिक्षामात्र नदिई स्वस्थ मानसिक स्वास्थ्य समेतमा राम्रो ध्यान पु¥याएकोमा प्रसंशा गरे ।
विद्यालयका प्राचार्य हरिहर बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयको अब्बल नतिजा ल्याउनमा अहम् भूमिका निर्वाह गर्ने शिक्षक, अभिभावक, शिक्षा शाखा, तथा सरोकारवाला सबैलाई धन्यवाद दिए । विद्यालयको वार्षिक प्रतिवेदनलाई उपस्थित अभिभावकहरुले पारित गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता भने एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपाल प्रसाद घिमिरेले गरेका थिए ।