काठमाण्डौ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ ।
बैठकले इनरुवा–पूर्णिया र दोधारा–बरेली चार सय केभी प्रसारणलाइन निर्माणको मोडालिटीलाई अनुमोदन गर्ने तयारी छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि यी प्रसारणलाइन बन्नु महत्त्वपूर्ण छ ।
ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली हिजो भारत गइसकेको छ ।
गएको माघ ९ गते दुई देशका ऊर्जा सह–सचिवस्तरीय संयुक्त कार्यदलको बैठकले दुई अन्तरदेशीय प्रसारणलाइन निर्माणको मोडालिटी टुङ्गो लगाएको थियो ।
नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव सन्दिव देवले नेतृत्व गरेको बैठकले दुई वर्षदेखि टुङ्गो लगाउन नसकेको इनरुवा–पूर्णिया र दोधारा–बरेली प्रसारणलाइन निर्माणको मोडालिटी टुङ्गो लगाएको थियो ।
यसबाहेक सचिवस्तरीय बैठकमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता आठ सयबाट बढाएर एक हजार मेगावाट पु¥याउने, चमेलिया–जौलजीवी दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको डीपीआर यसैवर्ष सम्पन्न गर्ने, सन् २०३५ सम्ममा चार सय केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनउ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने सहसचिव स्तरीय सहमतिलाई अनुमोदन गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।
झिल्को खबर । २९ माघ २०८१, मंगलवार ०७:५६