चिसो छल्न चर्किएकै घरमा सर्दै भूकम्पपीडित

सल्यान — टिनको टहरामा बस्दै आएका दार्मा गाउँपालिका–२ दलसिंहका मोहन दमाई ह्वात्तै बढेको चिसोका कारण बालबालिका बिरामी हुन थालेपछि भूकम्पले चर्किएकै घरमा सरेका छन् ।

टहराभित्र शीत पर्ने, हावा छिर्ने र आगो बालेर बस्न नसकिने भएपछि रुघाखोकी, निमोनियाको समस्या देखिएपछि उनले २०८० कात्तिक १७ गतेको भूकम्पले चर्किएर बस्न छाडेकै घरमा फर्किएको बताए ।

टहरोमा बस्दै आएका दार्माका भूकम्पपीडित चिसो छल्न क्षति पुगेकै घरमा फर्किएका छन् । ह्वात्तै बढेको चिसाको कारण बालबालिकामा निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्या देखिएपछि टहरोमा बस्दै आएका पीडित परिवार भूकम्पले क्षति पुगेको घरमा फर्किएका हुन् । भूकम्पबाट दार्माका ४ हजार ८० घर क्षति भएका थिए । बस्न नमिल्ने गरी क्षति भएपछि १ हजार ६ सय परिवार टहरामा बस्न बाध्य भएका थिए ।

सरकारले भूकम्पपीडितलाई तत्काल टहरा बनाउन ५० हजार अनुदान दिने भनेको थियो । पहिलो किस्ताबापत दिएको २५ हजार रकम अपुग भएपछि ऋण लिएर टहरो बनाई बसोबास गर्दै आएका पीडितहरु क्षतिग्रस्त घरमै फर्किएका हुन् । टहरा उपयोगविहीन भएपछि स्थानीयले अन्य कामका लागि टहरो प्रयोग गर्न थालेका छन् । टिनले बारेको टहरो साँघुरो भएको, चिसोबाट बच्नका लागि आगो बाल्न नमिल्ने, वर्षात् भएमा पानी चुहिने, चिसोका कारण रातीमा शीत चुहिँदा समस्या हुन थालेपछि भूकम्पले क्षति पुगेको भवन टालटुल पारेर फर्किएको बछेलाका वीरबहादुर खड्काले बताए । ‘हिजोआज दैनिकजसो विभिन्न ठाउँमा भूकम्प गैरहेको छ । अलि ठूलो भूकम्प आएमा घर कामै नलाग्ने गरी भत्किने पक्का छ तर के गर्नु नयाँ भवन बनाउन रकम छैन, सरकारले सहयोग गर्दैन, नबसी नहुने बाध्यता छ,’ उनले भने ।
दार्मा-१ की विमला ओलीले टहरोभन्दा भूकम्पले चर्किएको घरनै सुरक्षित लागेको बताइन् । उनले भनिन्, ‘टहरोमा चिसोका कारण आगो बाल्यो भने धुवाँले बसिनसक्नु हुन्थ्यो । एउटै कोठामा लहरै सुत्नु पर्दा उस्तै समस्या । चर्किएको घर टालटुल पार्दा चिसो, गर्मी, हावाहुरी र वर्षातबाट त बचाएको छ,’ उनले भनिन् ।

भूकम्पले दार्मा–५ मा ५ सय २६ पूर्ण र २ सय ७४ आशिंक गरी ८ सय घर क्षति भएका थिए । यहाँ पूर्ण क्षति भएका ४ सय घर अस्थायी टहरामा बस्दै आएकोमा बसाई कष्टकर भएकै कारण धेरैजसोले टहरो छाडेर चर्किएको घरमा बस्दै आएको वडाध्यक्ष सुदीप केसीले बताए ।

दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले भूकम्पले घर क्षति भएपछि १ हजार ६ सय बढी परिवार टहरा बनाई बस्दै आएकामा विभिन्न रोगको सिकार हुन थालेपछि असुरक्षित महसुस गरेकै कारण छिटपुटबाहेक सबैले छाडिसकेको बताए । चिसोका कारण मंसिरयता मात्रै ५ सय परिवारले टहरा छाडेर क्षति पुगेको घरमा सरेको उनले बताए । उनका अनुसार चिसोका कारण टहरामा बस्दै आएका धेरैजसो बिरामी परेका छन् ।

सरकारले क्षति भएको घर पुनर्निर्माण गर्ने भने पनि बेवास्ता गरेको र आर्थिक अवस्थाका कारण सबैले नयाँ घर बनाउन नसक्दा पीडितको अवस्था दयनीय भएको उनले बताए । एक्कासी बढेको चिसोका कारण टहरोमा बस्नेमात्र नभई दार्मा गाउँपालिकाका बालबालिकामा निमोनिया, रुघाखोकी, ज्वरो बढ्दै गएको र ज्येष्ठ नागरिकमा दमको समस्या बढेको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।