जनयुद्धको आधारइलाका पचालझरनाले दियो ‘जनयुद्ध दिवस’को सार्वजनिक विदा

सुर्खेत । माओवादी जनयुद्ध दिवसको अबसरमा कालिकोट पचालझरना गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

तत्कालिन माओवादी जनयुद्धको बेला आधारइलाकाको रुपमा चिनिएको पचालझरना गाउँपालिकाले जनयुद्ध सुरु भएको दिन अर्थात फागुन १ गते (विहिवार) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बमले बुधवार एक सूचना प्रकाशित गर्दै जनयुद्ध दिवसको अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत बमले उक्त सूचनामा अगाडी लेखेका छन् ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ सुरु भएको सशस्त्र जनयुद्धको स्मरण र जनयुद्धका क्रममा आफ्नो सगौरब बलिदान गर्ने महान शहिदहरुको उच्च सम्मान भाव प्रकट गर्दै गाउँ कार्यापालिकाले मिति २०८१ फागुन १ गते मनाईने जनयुद्ध दिवसको अबसरमा गाउँ कार्यपालिकाको मिति २०८१÷१०÷०९ गतेको निर्णयानुसार गाउँपालिका भित्रका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी कार्यालय सम्पूर्ण शिक्षण संस्था लगायत सबै निकायहरुमा १ दिन सार्वजनिक विदा दिइएको व्यहोरा जानकारी गराइन्छ ।’

माओवादी जनयुद्धका बेला यो गाउँपालिका आधारइलाकाको रुपमा माओवादीले घोषणा गरेका थिए । यो गाउँपालिकाबाट माओवादी आन्दोलनमा ठुलो संख्यामा बलिदानी भएको छ भने तत्कालिन राज्यले यो गाउँका सर्वसाधरणलाई निकै दुख दिएको थियो । शान्ति प्रक्रियामा आएपछि स्थानीय तहको निर्वाचनमा भने यो गाउँपालिका भित्र एउटा वडा बाहेक सबै माओवादीले जित्दै आएको छ ।