सन्तोषीलाई पोखरामा हाफ म्याराथन उपाधि

सन्तोषी श्रेष्ठले सफल पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि जितेकी छिन् । शनिबार पोखरामा भएको महिलातर्फको २१.०९७ किलोमिटरको दूरी धादिङकी सन्तोषीले एक घण्टा २० मिनेट ३ सेकेन्डमा पूरा गरेकी हुन् । केन्याकी स्वारोन जोनोटिकले एक घण्टा २१ मिनेट ७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् ।

नेपालकै पुष्पा भण्डारी एक घण्टा २३ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो, आस्मा विक चौथो र द्रोपताकुमारी कठायतले पाँचौँ स्थान हात पारे । सन्तोषीले १ लाख ५० हजार, केन्याकी स्वारोनले एक लाख, तेस्रो भएकी पुष्षाले ७५ हजार हात पारेकी छिन् ।

पुरुष २१.९७ किलोमिटरको हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घन्टा ९ मिनेट ७ सेकेन्डमा दूरी पार गर्दै प्रथम भएका हुन् । नेपालका सन्तोष विक्रम विष्ट एक घण्टा ९ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुँदा गजेन्द्र राई तेस्रो र केन्याकै इम्यान्युल किप्तारबी चौथो भएका छन् ।

केन्याका धावक विल्सन चेरुयुइटले १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि हात पारेका छन् । पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको ४२.२९५ किलोमिटरको दूरी दुई घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भए ।

उनले पाँच लाख पाएका छन् । १८औँ संस्करणमा विजेता जुलियस मुरियाली वाहोमले दुई घण्टा १७ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । उनले तीन लाख पाए । केन्याली खेलाडी ओनेसमस गिटायु तेस्रो भएका छन् । उनले दुई लाख हात पारेका छन् । दुई घण्टा ३८ मिनेट १७ सकेन्ड दूरी पूरा गरेका नेपालका किरणसिंह बोगटीले चौथो स्थान हात पारे ।

नेपालका निरोज भट्ट क्षेत्री पाँचौँ, रिखुलालसिंह मगरले छैटौँ, दिनेशसिंह बोगटीले सातौँ र केन्याका माइकल माथियाले आठौँ स्थान हात पारे । गण्डकी प्रदेशतर्फको प्रतिस्पर्धामा दुई घण्टा ३८ मिनेट २२ सेकेन्डमा दूरी पार गरेका निरोज भट्ट क्षेत्री प्रथम भएका छन् ।

१० किमि पुरुष दौड ३६ मिनेट ५ सेकेन्डमा पूरा गर्दै शुभम लामिछाने प्रथम भएका हुन् । ५० वर्षभन्दा माथिको भेट्रान्स पुरुष दौडतर्फ धर्म महर्जन प्रथम, रेवतबहादुर ढकाल दोस्रो र अभीनारायण अधिकारी तेस्रो हुँदा महिलातर्फ टोलमाया थापा प्रथम, दुर्गालक्ष्मी गुरुङ दोस्रो र राममाया गुरुङ तेस्रो भएका छन् ।