सुर्खेत । कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नालीका’ को छैटौँ संस्करण आजदेखि सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ । यस वर्षको छैटौँ संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलको आँगनमा हुनेछ।
आयोजक संस्थाका अनुसार तीन दिनसम्म चल्ने उत्सवमा कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाइने छ । यो पटकको उत्सवमा १३ वटा सेसन रहने छन् भने तीन जनाले पैकेलोमार्फत आफ्ना संघर्ष–कथा सुनाउने छन् ।
कर्णाली उत्सवका संयोजक कमलराज लम्सालका अनुसार पहिलो दिन उद्घाटन सत्रमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका बारेमा बोल्नेछन् भने संघीय सवाईका विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्ना भनाइहरू राख्नेछन्। यस्तै ‘मान्ठ र मइडो’ शीर्षकमा राजनीतिक चिन्तक आहुतिले विद्धत प्रवचन दिनेछन् ।
पहिलो दिनको सत्र ‘के पढ्यौँ,के पढायौँ’ शीर्षकको हुनेछ । यसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफ्ना भनाइहरू राख्नेछन् ।
यस्तै ‘स्वाइनी स्वर’ (कर्णालीमा महिला आन्दोलन) शीर्षकमा हुने सत्रमा नेपाल सरकारका सचिव लक्ष्मीकुमारी बस्नेत, जुम्लाकी पत्रकार दिलमाया शाही र कालिकोटकी अभियन्ता पुना कामी सहभागी हुनेछिन् । ‘खस कुडा, खास कुडा ः किस्सा तन्नेरीका’ सत्रमा कलाकार इब्सल संज्याल र नवराज भण्डारीले भाग लिनेछन् भने बैकिनी बोल्लिछन् (नारी नेतृत्व) मा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, नेपाल सरकारका सजि राधिका अर्याल र दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाही वक्ताका रुपमा उपस्थित हुनेछन् ।
झिल्को खबर । ५ फाल्गुन २०८१, सोमबार ०८:३२