

नेपाल, म्यानमार, किर्गिस्तान र लेबनाम सम्मिलित फोर नेसन्स कप फुटबल प्रतियोगिता सोमबारदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस प्रतियोगितालाई एसिया कप तथा विश्वकप छनोटको तयारीस्वरूप लिएको छ । फिफाको विन्डोमा प्रतियोगिता हुने भएकाले सहभागी राष्ट्रको फिफा वरीयतामा समेत सुधार हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा घरेलु टोली नेपालले साँझ ६ बजे किर्गिस्तानविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ । अन्तर्राष्ट्रिय फुटबलमा यी दुईबिच दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २०१९ मा नाज्भेदा कपमा नेपालले किर्गिस्तानमाथि ८–२ को सानदार जित निकालेको थियो । सो खेलमा सावित्रा भण्डारीले चार र अनिता बस्नेतले दुई गोलका थिए । किर्गिस्तानको पोस्टमा दीपा राई र निरु थापाले समान एक गोल थपे ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ६ वर्षअघि र अहिलेको किर्गिस्तान टोलीमा धेरै परिवर्तन आएको बताए । ‘६ वर्षअघि खेलेको किर्गिस्तान र अहिले नेपाल आएको टोलीमा धेरै परिवर्तन भइसकेको छ,’ तामाङले भने, ‘हामीभन्दा वरीयतामा तल रहेको टोलीलाई सहज मान्न मिल्दैन, तर नेपालले आफ्नो खेल खेल्नेछ ।’ प्रतियोगिताअघि एन्फाले आइतबार आयोजना गरेको प्रिपोस्ट म्याचमा सहभागी टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्न दाबी गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बाले महिला लिगपछिको अन्तर्राष्ट्रिय फुटबल आयोजना हुनु सुखद रहेको बताइन् ।
‘साफ महिला च्याम्पियनसिपछि अन्तर्राष्ट्रिय खेल खेल्दै छौँ,’ अञ्जिलाले भनिन्, ‘हाम्रो तयारी राम्रो छ । अन्य सहभागीले पनि तयारी राम्रो गरेको सुनेको छु ।’ फोर नेसन्समा सबैभन्दा बलियो म्यानमार हो । म्यानमार फिफा वरीयताको ५५औँ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् । अञ्जिलाले कुनै पनि टोलीलाई कमजोर नलिने बताइन् । ‘सबै टोली एकै स्तरका छन्, विपक्षीको रणनीतिअनुसार खेल्छौँ,’ उनले भनिन् ।
सावित्राले पहिलो खेल गुमाउने सम्भावना
नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारीले फोर नेसन्स कपको पहिलो खेल गुमाउने सम्भावना छ । मुख्य प्रशिक्षक तामाङले सावित्रा सोमबार बिहान मात्रै नेपाल आइपुग्ने र पहिलो खेल गुमाउने सम्भावना रहेको बताए । ‘सावित्रा सोमबार बिहान मात्रै नेपाल आइपुग्नेछिन् । उनलाई विश्राम दिने सम्भावना छ, तर खेल्न चाहे वा आवश्यकता रहँदा मैदानमा उतार्नेछु,’ तामाङले भने ।
नेपाली टोलीमा दुई नयाँ अनुहार
प्रशिक्षक तामाङले गत बिहीबार २३ सदस्यीय अन्तिम खेलाडी घोषणा गर्दा दुई नयाँ खेलाडीलाई स्थान दिएका छन् । उनले मिडफिल्डर सुष्मा तामाङ र लेफ्ट ब्याक मनमाया दमाईंलाई पहिलोपटक टोलीमा समावेश गरेका हुन् । साफ च्याम्पियसिपमा घाइते दीपा शाही र हिराकुमारी भुजेलसँगै नेपाली सेनाको सहसेनानीको तालिममा रहेकी अमिषा कार्की टोलीमा छैनन् ।
सरस्वती हमाल र चन्द्रा भण्डारीले कमब्याक गरेका छन् । ग्रिसको लिगमा आबद्ध अञ्जिला र युएईको लिग खेलिरहेकी रेखा पौडेल पनि फोर नेसन्स कपमा सहभागी हुन आइसकेका छन् । तामाङले नेपालको लागि तयारी पूरा भएको बताए । ‘विदेशी लिगमा आबद्ध खेलाडीको आगमनसँगै हामीहरूको सबै तयारी सकिएको छ, हामीले सहजै जित्छौँ भन्न सकिँदैन,’ उनले भने, ‘स्ट्राइकर राम्रा छन्, काउन्टर अट्याकमा ध्यान दिन्छौँ ।’
१२ फाइनलको नमिठो हार
नेपालले यसपटक पनि अन्तर्राष्ट्रिय महिला उपाधिको खडेरी तोड्ने लक्ष्य राखेको छ । १२ पटक फाइनल पुगेर पनि नेपाल उपाधिविहीन छ । गत कात्तिकमा दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपाल भारतसँग साफ च्याम्पियनसिपमा चार र दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक फाइनलमा पराजित भएको छ । यसैगरी, बंगलादेशसँग दुईपटक, भारतमा भएको हिरो महिला कपमा म्यानमारसँग, साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा जोर्डनसँग र उज्वेकिस्तानसँग नाजेज्दा कपको फाइनलमा नेपाल पराजित भएको थियो ।
किर्गिस्तान धेरै राम्रो भएको छ
राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
नेपालको सबै तयारी पूरा भएको छ, हामीले किर्गिस्तानसँग ६ वर्षअघि खेलेका थियौँ । अहिलेको किर्गिस्तान धेरै बलियो छ, उनीहरूको स्तर बढेको छ । सजिलै जित्न सकिन्छ भन्ने छैन । हाम्रा स्ट्राइकर राम्रा छन् । काउन्टर अट्याकमा ध्यान दिछौँ । पहिलो खेलमा बल नियन्त्रणमाथि विशेष निगरानी हुनेछ ।
सबै बलिया छन्
अञ्जिला तुम्बापो सुब्बा, कप्तान, नेपाल
साफ च्याम्पियनसिपपछि फेरि अन्तर्राष्ट्रिय खेल खेल्न अवसर पाएका छौँ । तयारी राम्रो भएको छ । यसपटक पनि उपाधि जित्नका लागि खेल्छौँ । गोलकिपिङ र डिफेन्सबिचको राम्रो तालमेल हुनुपर्छ । यस पक्षमा गल्ती कम गर्ने प्रयासमा हुनेछ । प्रशिक्षकले बनाएको योजनाअनुसार खेल्दै उपाधि जित्न मिहिनेत गर्छौँ ।

झिल्को खबर । ५ फाल्गुन २०८१, सोमबार ०८:४८