म्यानमारलाई नेपालको चुनौती


काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आइतबार म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ। सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन्।

नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गरेको थियो। म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यसैले आइतबारको खेल यी दुई टोलीका लागि फागुन १४ गते हुने उपाधि भिडन्तका लागि ‘रिहर्सल’ खेल मात्रै हुनेछ।

नेपाल र म्यानमार तेस्रोपल्ट भिड्न लागेका हुन्। ५५औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भयो।