जुगको साक्षी द्यार

कर्णालीको इतिहास विराट् र विशाल वृक्षको कथा

विसं. २०७६ साल साउनको अन्तिम साता तिला नदी बढेर जुम्लाको लाम्रा र हाँकु जोड्ने काठेसाँघु भत्कियो । तीन दशक पहिले पुनर्निर्माण गरिएको यो साँघु त्यस्तो जीर्ण थिएन तर सामान्य मर्मत नहुँदा र थोरै होसियारी नअपनाएका कारण भत्कियो । नदीमा उर्लेको भेलले निरन्तर दबाव दिँदा एकापट्टिको पर्खाल भत्कियो र साँघु अड्याइरहेका बलिया खम्बा लडेर बगे । नदीको दक्षिणतिरका गाउँसँग आउजाउ एकाएक टुट्यो अनि बल्ल थाहा भयो, स्थानीय समुदाय र सरकारसँग पुलको विकल्पमा कुनै तयारी रहेनछ ।

यही तिला नदीको जुम्लाखण्डमा पूर्व चौधबिसदेखि पश्चिम रारालिहीसम्म करिब एक दर्जन साँघु झोलुङ्गे वा अरू कङ्क्रिटका पुलले विस्थापित भइसके । हुने तरखरमा छन् तर यो हाँकुसाँघु सबभन्दा ठुलो, दुई खण्ड जोडिएको निकै बलियो पुल थियो । परापूर्वदेखि अनवरत चलिरहेको र कहिल्यै यसरी सम्पर्कविच्छेद अनुभव नभएर होला, कसैले यसको विकल्प सोचेनन् । यस्तै विपद् नभोगेका र नदेखेका पुस्तामा पूर्वतयारी सोच कमजोर हुन्छ सायद ।

केही दिन अवरुद्ध भए पनि स्थानीयले साँघु सामान्य मर्मत गरेर काम चलाएका छन् । विकल्प उपलब्ध नहुन्जेल आवश्यक मर्मत गरी भरपर्दो अवस्थामा पुरÞ्याउन लागि परेका छन् । पुल उपभोग गर्ने आसपास सबै गाउँका मिलेर काम गरिरहेका छन् । जङ्गलबाट भीमकाय रुख ढालेर, खुर्केर, ताछेर बनाएका बडेमानका काठ स्थानीय भाषामा ’मैदान’) तान्दै ल्याउने र बनाउने प्रक्रिया ज्यादै संवेदनशील, जटिल र केही जोखिमपूर्ण हुन्छ ।

बाह्रै मास व्यस्त हुने स्थायी संरचना भएकाले निकै सुझबुझले काम गरिन्छ । अहिले नदी बढेको छ, असोज नभई पानी घट्दैन । त्यसैले नदीमा बलिया गाड्न सकिन्न । जेनतेन ’मैदान’ जोडेर मान्छे र जनावर आउजाउ गर्न मिल्ने कामचलाउ साँघु बन्नेछ ।

पक्कीपुल आवश्यक भएकाले सरकारी योजनाको खोजीमा विभिन्न निकाय धाउने क्रम पनि सुरु भएको छ । अब गाडी चल्न सक्ने पुल चाहिएको छ । ढिलोचाँडो कुनै योजना आउने छ । कङ्क्रिट, फलाम र सिमेन्टको पुल पुरानो शैलीमा बन्ने छैन । काठेपुलप्रति मान्छेको चासो घट्ने छ । अनि कर्णालीमा सामुदायिक सहकार्यमा बन्ने मौलिक शैलीको एउटा विशिष्ट नमुनाको अवसान हुने छ । कुनै विशेष यान्त्रिक वा आधुनिक पद्धति नअपनाई सम्पूर्णतः स्थानीय समुदायको श्रमदान र रैथाने सिप प्रयोग गरी बनाइने यस्ता साँघुको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व छ । यसबारे चर्चा र संरक्षण गरिनु आवश्यक छ ।

कर्णालीका नदीहरूमा परापूर्वकालदेखि नै स्थानीय ज्ञान, प्रविधि र सिपबाट बन्ने काठेपुल मौलिक र विशिष्ट हुन्छन् । यस क्षेत्रमा बाह्रैमास बग्ने साना तथा मझौला नदी तर्न काठबाट बनेका साँघु बनाइएका हुन्थे । धेरै गाउँबस्ती जोड्ने स्थानमा विशेष खाले बलियो, टिकाउ र स्थायी प्रकृतिका साँघु पाइन्छन् । साँघु बनाउन सामान्यतया नदीले कटान गर्न नसक्ने, नदी साँघुरिएको स्थान छानिन्छ ।

अन्त भन्दा जुम्लाका साँघु विशिष्ट र बलिया हुनुको कारण निर्माणमा प्रयोग गरिने देवदारको काठ हो । जुम्लाका जङ्गल र बस्तीमा देवदार पाइन्छ । तराई– पहाडमा वरपिपलको चौतारी भएझैँ जुम्लामा देवदारमुनि चौतारो हुन्छ । देवदारलाई स्थानीय भाषामा ‘देयार’ भनिन्छ । यसको काठ एकदमै बलियो, पानीले नकुहिने र किरा नलाग्ने हुन्छ। देवदार अग्लो र लामो आयुको हुन्छ । त्यसैले देयारकाबारे स्थानीय भनाइ प्रचलित छ, “हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी ।“ अर्थात् देवदार दीर्घजीवी हुन्छ

देवदारको जङ्गल मासिएको छ । नयाँ रोपिएको छैन, भएकाको संरक्षण छैन । जुम्लाका दक्षिणी मोहोडा परेका डाँडा सुख्खा–नाङ्गा देखिन्छन् । ती ठाउँमा पहिले देवदार र सल्लाको जङ्गल हुन्थ्यो । रुख काटिए, नयाँ रोपिएन । खुल्ला जमिनको चिस्यान सकियो, भू–क्षय भयो, उर्वरता सकियो ।

वनविनाशको यो क्रम करिब सय वर्षअघिबाट सुरु भयो । सन् १९३० दशकमा जुम्लाबाट देवदार काठको व्यापक चोरीपैठारी गरी भारत पुरÞ्याइन्थ्यो । ब्रिटिस इस्ट इन्डिया कम्पनीले उत्तर भारततिर रेल्वे सेवा विस्तार गर्दा बलियो काठ चाहियो । त्यसका लागि उच्च पहाडी क्षेत्रबाट समेत काठ आपूर्ति गरियो । त्यति बेला जुम्लाबाट देवदार काठ तिला नदीमा बगाएर कर्णाली हुँदै राजापुरको बाटो भारत पुग्थ्यो भनेर सन् १९६७ तिर जुम्लामा पन्ध्र महिना बसेर अध्ययन गरेका बेरी सी बिशपले आफ्नो किताबमा उल्लेख गरेका छन् ।

नेपालमा देवदार कति छ, कहाँ–कहाँ र कुन प्रजाति पाइन्छ, यकिन छैन । यसका प्रजातिमध्ये ’सेड्स डियोडारा’ अर्थात् हिमालयन देवदार विशेषगरी अफगानिस्तान, पाकिस्तान, भारतको कश्मीर, हिमाञ्चल प्रदेश र पश्चिम नेपालको कर्णाली क्षेत्रमा पाइन्छ । पाकिस्तानले त देवदारलाई राष्ट्रिय रुखको दर्जा दिएको छ । यो समुद्र सतहको १५०० मिटरदेखि ३००० मिटरसम्म उचाइमा हुन्छ ।

तर भारतको दार्जिलिङ, सिक्किम, अरुणाञ्चल र भुटानमा पनि यो प्रजातिको देवदार पाइन्छ । यसबाट नेपालकै पनि अन्य भागमा पाइने सम्भावना छ तर सूचना पाइएको छैन । पश्चिम नेपालका उच्चपहाडी भेगमा देवदार जङ्गल छन् । संरक्षण र संवद्र्धन छैन । प्राकृतिक रूपमा बनिरहेका जङ्गल मानव गतिविधिका कारण नासिँदै छन् ।

देवदार सङ्कटमा छ । ’आइयुसीएन’ले यसलाई ’रेड लिस्ट’मा राखेको छ । यसबारे यथेष्ट अध्ययन–अनुसन्धान र अभिलेखको अभाव छ । अब स्थानीय सरकारको यसप्रति चासो बढाउन पर्छ ।

देवदार बहुगुणी रुख हो । यसको काठबाट मूल्यवान् सामग्री र फर्निचर बन्छन् भने प्रशोधन गरेर खोटो र तेलबाट पफ्र्युम, स्प्रे, साबुन, औषधि बनाइन्छ । बोक्रा, पात, र फूलमा ’एन्टिफंगल तत्त्व हुन्छ । यसको गन्ध स्थानीयहरूले किरा, मुसा, सर्प भगाउन प्रयोग गर्छन् । यसको झोल पशुवस्तुको गोडामा घसेर किरा भगाउने औषधिका रूपमा पनि प्रयोग हुन्छ ।

देवदारसँग जोडिएका धार्मिक र आध्यात्मिक प्रसङ्ग उत्तिकै रोचक छन् । हिन्दुशास्त्रमा देवदारलाई पवित्र रुख वा काठ मानिन्छ । देवदार महादेवको प्रिय थियो । कामदेवले ध्यानभङ्ग गर्दा महादेव देवदारकै रुखमुनि ध्यानमग्न थिए भन्ने विश्वास छ । ऋषिमुनिहरूले पनि महादेव उपासना गर्दा देवदारमुनि तपस्थ गर्थे भनिन्छ ।

मन्दिर छेउको देवदार पवित्र मानिन्छ । कर्णालीतिर प्रसिद्ध मष्टोको थान नजिक प्रायः देवदार भेटिन्छ । मष्टोलाई शिवको अङ्ग मानिन्छ । थानमा सबभन्दा अग्लो रुख काटेर लिङ्गो ठड्याइन्छ । त्यो लिङ्गो सकेसम्म देवदारकै हुन्छ । देवदार नभेटिंदा झुलो वा सल्ला हालिन्छ ।

देवदार संस्कृत ’देवदारु’ बाट आएको नाम हो । ’देव’ भनेको देवता र ’दारु’ भनेको काठ । रावणले सीता हरण गरेर राखेको बाटिकामा होस् या पाण्डवहरूले विचरण गरेको जङ्गलमा, देवदारको चर्चा पाइन्छ । वाल्मीकि रामायणको किष्किन्धाकाण्डको श्लोकमा सीता (वैदेही) लाई खोज्न जाने सेनालाई अर्ती दिँदै सुग्रीव भन्छन्ः

लोधापद्मकखण्डेषु देवदारुवनेषु च ।
रावणेन सह वैदेही मार्गितव्या ततस्ततः ।

अर्थ– लोधरा र पद्मका रुख भएको र देवदारुको वन भएको ठाउँमा, रावणका साथमा रहेकी सीतालाई खोज्नुपर्छ ।
पश्चिमतिर पनि यसलाई ‘रुखहरूको राजा’ भनिन्थ्यो । बाइबलमा ७७ चोटि लेबनानका देवदारबारे चर्चा छ । लेबनानको देवदार ’ईश्वर स्वयम्ले रोप्नुभएको’ विश्वास गरिन्छ। देवदार पवित्रता, अनन्तता र शान्तिको प्रतीक मानिन्छ । लेबनानको राष्ट्रिय झन्डामै हरियो देवदार रुखको चिह्न छ। देवदार बचाउन लेबनानमा विशेष अभियान नै चलेको छ । ‘क्रिसमस ट्री’ पनि देवदारकै प्रजाति हो ।

अब काठेपुलकै चर्चातिर फर्कौ ।

पुल बनाउने विविध शैलीका आधारमा वर्गीकरण गर्दा काठेसाँघुलाई ‘उडन कान्टिलिभर ब्रिज’अन्तर्गत राख्न सकिन्छ । यसप्रकारको पुलमा दाँयाबायाँका दुवै भुजामा बलिया खम्बामा भार वहन गर्ने बिम तेर्सो पारेर एकमाथि अर्को पत्र राख्दै बिच वा केन्द्रतर्फ बढ्ने गरी मिलाएर राखिन्छ ।

ती बिमले ‘कान्टिलिभर’ अर्थात् ’ब्राकेट’ बिमको काम गर्छन् । त्यसमाथि हिँड्न मिल्ने गरी लामा–लामा मैदान मिलाएर राखिन्छ । छेउछेउमा उस्तै आकारका अरू मैदान जोडेर ‘साइडबार’ बनाइन्छ । त्यो सबै भार ती दुवै भुजामा राखिएका बिम र खम्बाले सन्तुलन गर्छन् ।

काठेसाँघु संसारभर प्रचलनमा छन् । नेपालकै अन्य नदीमा पनि छन् तर तिनमा साना र मसिना काठ, टुक्रा जोडेर वा केवल एक–दुई थान काठ मिलाएर नदी तर्न मिल्ने मात्र भेटिन्छन् । जुम्लामा पाइने परम्परागत र मौलिक शैलीका काठेसाँघु जस्ता अन्यत्र भेटिदैन ।

यो शैलीका पुलबारे अध्ययन र अनुसन्धान गरिएका जानकारी पनि भेटिदैनन् । यद्यपि यस्तै आधुनिक पुल डिजाइनहरूको सर्वाधिकार भने विदेशतिर व्यक्तिगत नाउँमा दर्ता भइसकेको छ ।

यस्ता पुल वा साँघु बनाउन धेरै स्रोतसाधन र जनशक्ति चाहिने हुनाले बाक्लो बस्तीमै बनाइएको पाइन्छ । पातला बस्ती आसपासका नदीमा सामान्य वा अस्थायी पुल हुन्छन् । हुम्लाकर्णाली, मुगुकर्णाली र भेरीकर्णाली जस्ता ठुला नदी तर्न भने सम्भव भएको ठाउँमा डुङ्गा, नाउ वा तुइन चलनमा थिए ।

अचेल कैयौँ पहाडी र हिमाली भेकमा झैँ कर्णालीमा पनि झोलुङ्गे पुल विकासका सेतु बनेर भित्रिए । कैयौँ ठाउँमा ती पुलले टाढिएका बस्तीलाई निकट ल्याए, जनजीवन सहज गरे र परिवर्तकारी सिद्ध भए ।

जुम्ला उपत्यकाको तिला नदी र सिन्जा उपत्यकाको हिमा नदीका कैयौँ स्थानमा काठेसाँघु विस्थापित गर्दै बनेका झोलुङ्गे पुलले स्थानीय जनजीवनको आउजाउमा भने कुनै तात्त्विक भिन्नता ल्याएको छैन । न यात्राको दूरी र समय फरक परेको छ, न अरू सहजता थपेको । बरु त्यहाँको मौलिक शैली पूरै मासिएको छ । झोलुङ्गे पुलको बाटोबाट गाईवस्तु तथा भेडाबाखा तार्न मुस्किल पर्छ । दिनदिनै जङ्गल आउजाउ भइरहने ठाउँमा त्यति प्रभावकारी छैन ।

यस क्षेत्रमा सबभन्दा पहिले भेरी नदीमाथि जाजरकोटबाट चौरजहारी जोड्ने ठाउँमा फलाम र स्टिलको झोलुङ्गे पुल बनेको थियो । उहिले बाइसे राज्यकालको अन्तिम कालखण्डदेखि नै जाजरकोटको गोर्खाली राज्यसँग बिहेवारीको सम्बन्ध बनेको थियो । यसैक्रममा रणबहादुर शाहकी छोरी दुर्गाकुमारीको बिहे जाजरकोटे राजा दीपनारायण शाहसँग भयो । रानीले जाजरकोट बस्दा गलगाँड हुने, हावापानी नमिल्ने जस्ता समस्या उल्लेख गरी काठमाडौँ पत्राचार गरेकाले उनलाई पाँच हेक्टर जग्गा बिर्ता दिएर चौरजहारी बस्न मिल्ने गरियो । पछि जाजरकोटकी राजकुमारी बालकुमारीको बिहे चन्द्रशमशेरसँग भयो । उनैको पहलमा भेरीमाथि यो क्षेत्रकै पहिलो झोलुङ्गे पुल बन्यो ।

झोलुङ्गे पुलभन्दा देवदारको मजबुत काठले बन्ने स्थानीय साँघु बढी टिकाउ हुन्छ । फलामे पुल भत्केर, बाङ्गिएर, खिया लागेर, नटबोल्ट हराएर, चोरिएर पटकपटक मर्मत गरिरहन परेको छ ।

हाँकु साँघु पछिल्लो चोटि २०४६–४७ सालमा जीर्णोद्धार भएको थियो । ३० वर्षअघि मर्मत गर्दा प्रयोग भएका केही काठ त्यसअघि २०२६ सालको मर्मतक्रममा प्रयोग भएका थिए । २०२६ सालमा बाढीले धेरै साँघु नष्ट भए । त्यसमध्ये एक मुगु हुम्ला जोड्ने पुलको फोटो बेरी सि बिशपले आफ्नो पुस्तकमा राखेका छन् ।

हामीलाई विकास अवश्य चाहिएको छ । मजबुत ’कनेक्टिभिटी’ चाहिएको छ । बलिया पुलपुलेसा, बाह्रै महिना चल्ने दीर्घकालीन संरचना चाहिएको छ तर हामीले यो बिर्सिन हुँदैन, विकासको भोकमा आफ्ना विशिष्ट पहिचान बोकेका मौलिकता हामीले मेटाउनुहुँदैन । कर्णालीका हरेक ठाउँ, वस्तु, परम्परा, शैली र विशेषता मूल्यवान् छन् ।

साँघुहरू कर्णाली पर्यटनसँग जोडिएका छन् । ’प्रेमगीत’ फिल्मको गीतमा भिजुअलाइज’ भएपछि रारा जाने पर्यटकमाझ हिमा गाउँपालिकाको बाँझागाडको काठेसाँघु चर्चित फोटो ‘स्पट’ बनेको छ । त्यसैले परम्परागत शैलीका हरेक चिजको महत्व छ । कर्णालीका काठेसाँघु भविष्यका नागरिकले पनि देखुन् भन्ने सोच्न आवश्यक छ । साँघु जागाउन स्थानीय सरकारले सक्रिय पहल गर्न जरुरी छ ।

आधुनिक मोटररोड जोड्ने पुल बनाउँदा काठेसाँघु मासेर नबनाउने नीति लिनु पर्छ । पूर्वजले आफ्नो परम्परागत अनुभव,ज्ञान र सिप प्रयोग गरी जुन ठाउँमा साँघु बनाएका छन् । ती स्थान र आसपासमा सङ्क्रिट संरचना नबनाऊँ । यसलाई प्राकृतिक अवस्थामै रहन दिऊँ ।

यसरी नै देवदार संरक्षणको पहल आवश्यक छ । यसको महत्व र फाइदाबारे स्थानीयमा चर्चा र छलफल आवश्यक छ । अहिलेसम्म उम्रेका सबै रुख मानवीय प्रयासबिनै उपलब्ध भएका वरदान हुन् । जब निश्चित संरक्षित क्षेत्र बनाएर देवदार रोप्न सुरु गर्नु गर्नुपर्छ । वन कार्यालयहरुले देवदारबारे अध्ययन अनुसन्धान गरेको भए आममानिसले बुझ्ने भाषामा बाहिर ल्याउन जरुरी छ । व्यापारिक प्रयोजनमा देवदारलाई जोडेर यसको उत्पादन र प्रसोधनमा लगानी गर्न सके यसप्रति धेरैको रुचि बढ्ने छ ।

कर्णालीका स्थानीय शिक्षा सामग्रीमा यसबारे अध्ययनको विषय समेटिन सकियोस् । कर्णालीका विद्यार्थीले कल्पना गरेर याद गर्नुपर्ने ‘गुलमोहर’ रुखबारे पढ्नुअघि आफ्नै जङ्गलमा पाइने ‘रुखहरुको राजा’ बारे ज्ञान पाउन् ।

सपादलक्ष कर्णाली पुस्तकबाट