डिभोर्सका लागि ठिक्क परेका गोविन्दा र सुनिता फेरि मिले

काठमाडौं । भारतीय अभिनेता गोविन्दासँग विवाह गरेकी नेपाली चेली सुनिता अहुजाको डिभोर्स तत्कालका लागि रोकिएको छ ।

सुनिताले नै यसअघि सम्बन्धविच्छेदका लागि निवेदन दिएपनि अहिलेका लागि टरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुनिताले ६ महिनाअघि पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भए पनि अहिले दुईबीचको विवाद समाधान भएको हो ।

गोविन्दाका वकिलले इन्डिया टुडेसँग भनेका छन्– गोविन्दा र सुनिता यस वर्ष नयाँ वर्ष मनाउन नेपाल गएका थिए। दुवैले पशुपतिनाथ मन्दिरमा सँगै पूजा गरेका थिए। अहिले उनीहरूबीच सबै ठीक छ। दम्पतीबीच यस्ता घटना भइरहन्छन्। यसअघि केही मिडिया रिपोर्टमा ६१ वर्षीय गोविन्दाको ३० वर्षीया मराठी अभिनेत्रीसँग अफेयर रहेको बताइएको थियो। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्।

यद्यपी सुनिताले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्। अर्कातर्फ बुधबार गोविन्दालाई यस विषयमा सोध्दा प्रस्टसँग केही भनेनन्। उनले भने– अहिले व्यापारिक छलफल चलिरहेको छ। म आफ्नो फिल्म सुरु गर्ने तयारीमा छु।

गोविन्दाका म्यानेजर शशी सिन्हाले बुधबार दैनिक भास्करलाई भनेका छन्– श्रीमती फिल्म बनाएर रिसाएकी छन्। यो पब्लिसिटी स्टन्ट मात्र हो। गोविन्दा फिल्म बनाइरहेका छन् तर सुनिता फिल्म बनाउने पक्षमा छैनन्। गोविन्दा काम गर्न थालेपछि सुनिता रिसाएकी थिइन्। सुनिता अन्तर्वार्तामा जे पनि बोल्थिन्। यसअघि उनले आफू र गोविन्दा अलग बस्ने बताएकी थिइन्।