जागरण अभियान सुदूरपश्चिम पुग्नुअघि नै भट्टलाई दलको नेता बनाउन प्रचण्डको निर्देशन

केन्द्रको निर्देशनपछि पनि सुल्झिएन माओवादी संसदीय दलको विवाद

सुर्खेत । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको निर्देशन र पार्टी केन्द्रको परिपत्रपछि पनि माओवादी सुदूरपश्चिम संसदीय दलमा देखिएको विवाद समाधानमा सहमति हुन सकेको छैन । यही क्रमम अध्यक्ष प्रचण्डले पार्टीका सुदूरपश्चिम प्रदेश सांसदलाई बुधबार खुमलटारमा बोलाएर खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका छन् । तर, भट्टलाई दलको नेता बनाउन अर्को पक्षका सांसदहरू भने तयार छैनन् ।

बुधबारको बैठकमा सहभागी माओवादीका एक प्रदेश सांसदका अनुसार प्रचण्डले पार्टीको आगामी जागरण अभियान सुदूरपश्चिम पुग्नुअघि नै दलको नेता परिवर्तन गर्न भनेका छन् । संसदीय दलमा देखिएको विवाद चर्किएपछि माओवादीका बहुमत सांसदले गत वर्ष माघमा पार्टीका स्थायी समिति सदस्यसमेत रहेका भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए । त्यसयता दलको नेतासम्बन्धी विवाद झन् बल्झिएको छ ।

माओवादीले भट्टलाई दलको नेता बनाउन संसदीय दललाई तीनपटक परिपत्र गरे पनि कार्यान्वयन नभएपछि प्रचण्डले पार्टीका सुदूरपश्चिम प्रदेश सांसदहरूलाई निवासमै बोलाएर छलफल गरेका हुन् । ‘केन्द्रको परिपत्र कार्यान्वयनमा ढिलाइ भयो । त्यसलाई कार्यान्वयन गरेर पार्टीको अभियान सुदूरपश्चिम पुग्नुअघि नै दलको नेता फेर्नु’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

तत्कालीन सरकारमा सहभागी पार्टीका मन्त्रीको कार्यसम्पादन र संसदीय दलको भूमिकालाई लिएर सुरु भएको विवाद चर्किएपछि बहुमत सांसदले पार्टीका स्थायी समिति सदस्यसमेत रहेका भट्टलाई गतवर्ष १२ माघमा दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए । अहिले दुवै पक्षमा पाँच–पाँच सांसद छन् । भट्ट सुदूरपश्चिममा माओवादीका सबैभन्दा सिनियर नेता हुन् ।

अध्यक्ष प्रचण्डसँग बुधबार भएको छलफलमा भट्टनिकटका सांसदले केन्द्रको निर्देशन कार्यान्वयन गरेर जानुको विकल्प नभएको धारणा राखेका थिए । दलभित्र र पार्टीमा देखिएका समस्या सँगसँगै समाधान गरेर जानुपर्नेतर्क अर्को पक्षको थियो । भट्टले आफूलाई दलको नेताको जिम्मेवारी दिन आग्रह गरेका थिए । उनले विगतका कमजोरीको समीक्षा गर्दै सामूहिक भावनाअनुसार चल्न तयार रहेको बताएका थिए ।

‘संसदीय दलको विषय पार्टी केन्द्रको निर्णय कार्यान्वयन गरेर जानुपर्छ । पार्टीभित्रका अन्तरविरोध पार्टी बैठकमै हल गरौँला भन्ने धारणा हामीले राख्यौँ,’ भट्टनिकट सांसद शिवसिंह ओलीले भने, ‘अध्यक्षले केन्द्रले गरेको परिपत्रअनुसार दलको नेता तत्काल फेर्न निर्देशन दिनुभयो ।’ खगराज दलको नेताबाट हटाइएपछि उनलाई दलको नेता बनाउन निर्देशनसहित पार्टी केन्द्रले संसदीय दललाई हालसम्म तीनवटा परिपत्र पठाएको छ ।

नेता धामी र उनीनिकट सांसदले भने संसदीय दल र पार्टीभित्रका समस्या सँगसँगै समाधान गरेर जानुपर्नेतर्क राखेका थिए । पार्टीमा कसैले जिम्मेवारी पाइराख्ने, सिनियर भए पनि कसैले जिम्मेवारी नपाउने समस्या हल हुनुपर्ने धारणा उनीहरूले राखेका थिए । ‘सुदूरपश्चिममा पार्टीभित्रको विवादको प्रतिबिम्ब संसदीय दलमा देखिएको हो । त्यसैले, पार्टीका समस्या पनि सँगसँगै समाधान गर्नुपर्छ,’ धामीनिकट एक सांसदले भने, ‘दलको नेता फेर्न कि पार्टीभित्रका समस्या सम्बोधन हुनुप¥यो, कि बहुमत पु¥याउनु प¥यो भनेर प्रस्ट रूपमा भनेका छौँ।’

दुवै पक्षलाई ‘विन विन’ हुने गरी जानुपर्ने बतायौँ ः रावल
दलका उपनेता अक्कल रावलले दुवै पक्षलाई ‘विन विन’ हुने गरी पार्टी र संसदीय दलका समस्या सम्बोधन हुनुपर्ने बताए । ‘समग्र विषय सम्बोधन नभएसम्म सर्कुलर कार्यान्वयन गरेर जान नसकिने कुरा हामीले राख्यौँ,’ रावलले भने।

स्रोतका अनुसार खगराजलाई दलको नेता बनाउन पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, लक्ष्मणदत्त जोशी र विना मगरमध्ये एकजनालाई पार्टीको प्रदेश इन्चार्ज बनाउनुपर्ने सर्त धामी पक्षले राखेको थियो । त्यस्तै, दलको नेताबाट हटाउँदा धामीको व्यवस्थापन र नेताहरूको उचित जिम्मेवारीको विषय उनीहरूले उठाएका थिए । सहभागीका अनुसार इन्चार्ज फेर्ने विषय भने प्रचण्डले अस्वीकार गरेका थिए ।

अध्यक्षले निर्देशन दिए पनि पार्टीभित्रका विषय सम्बोधन नभएसम्म दलको नेता तत्काल परिवर्तन हुने अवस्था नरहेको धामीनिकट सांसदले बताएका थिए । ‘विश्वासको वातावरण नबनेसम्म यथावस्थामा केन्द्रको निर्देशन कार्यान्वयन हुने देखिदैन,’ धामीनिकट एक सांसदले भने, ‘विधानअनुसार पनि दलको बहुमतको निर्णय पार्टीको निर्देशनले फेर्न बाध्य हुँदैन ।’

सुदूरपश्चिममा माओवादीभित्र रहेका गुटउपगुटको असर संसदीय दलमा देखिएको हो । बुधबार भएको बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेल, सहइन्चार्ज विना मगर सहभागी थिए।