सेवा प्रवाहमा सहजता ल्याउन अध्यादेश ल्याएको होः शहरी विकास मन्त्री सिंह

सुर्खेत । पछिल्लो समय सरकारले ल्याएको अध्यादेशको बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र सरकारको समर्थनमा रहेका केहि मधेशवादी दलहरुले विरोध गरिरहेका बेला संघीय सरकारका शहरी विकास मन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सेवा प्रवाहमा सहजता ल्याउन अध्यादेश ल्याएको बताएका छन् ।

आइतवार सुर्खेत विमान स्थलमा नेपाल प्रेस युनियन सुर्खेत शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिंहले हिजोका दिनमा पनि संसद नचलेको बेला सरकारले अध्यादेश ल्याउने गरेको भन्दै यसलाई अनर्थ नबुझ्न आग्रह गरे ।

‘अहिलेको सरकारले पुरानै सरकारले ल्याएको बजेट कार्यन्वयन गरेको छ । जनताको चाहाना भने पुरै चमत्कार होस् भन्ने छ,’मन्त्री सिंहले भने,‘सरकार जनताको चाहना अनुसार अगाडी बढेको छ ।’

राजनीतिक स्थायित्व र दिगो सरकार निर्माणका लागि प्रमुख दुई दलबीच सहकार्य भएको बताउदै उनले जनचाहना अनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।

सिंहले विधान र संविधानको परिधिभित्र रहेर पार्टी अधिवेशन हुने पनि स्पष्ट पारे । आफू अघिल्लो पटक पनि पार्टी सभापति उठिसकेकाले त्यो भन्दा तल आफ्ना लागि ठाउँ नभएको जिकिर उनको थियो।।