कुलमानलाई हटाइए सडक र सदनबाटै आवाज उठ्छः ज्ञानेन्द्र शाही

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्छ,’ उनले भने ।

घिसिङले प्राधिकरणलाई नाफामा लगेको उनले स्मरण गरे ।

‘२०७२÷०७३ सालमा नेपाल विद्युत प्राधिकरण आठ ८९ करोड रुपैयाँको घाटनामा थियो । अहिले २०८१÷०८२ को ६ महिना अझै बाँकी छ प्राधिकरणको ११ अब ३६ कुरोड फाइदामा छ,’ शाहीले भने ।

नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको उनले बताए । यस्तो व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनमा शून्य नम्बर दिइएको भनेर पनि उनले प्रश्न उठाए ।

‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र होइन कि शून्य नम्बर दिने । उहाँहरू (सरकार)को बस चल्ने हो भने भोलि पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?,’ शाहीले भने ।

साथै, उनले दशरथ रंगशालामा नेपाली नागरिकले कुटाइ खाएको भन्दै त्यसबारे प्रश्न उठाएका छन् ।

उनले खुलमखुल्ला जनतालाई कुट्ने अधिकार कसैलाई नभएको भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।