कालिकोट पचालझरनामा माओवादी केन्द्रका नेताहरु जनताको घरदैलोमा पुग्न थाले

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का नेताहरु पछिल्लो समय जनताको घरदैलोमा पुग्न थालेका छन् । पार्टीले संचालन गरेको ‘जनतासँग माओवादी रुपान्तरण तथा जागरण अभियान’ लिएर जनताको घरदैलो अभियानमा जुटेको नेकपा (माओवादी केन्द्र)पचालझरना गाउँपालिका अध्यक्ष गौरी संज्यालले जानकारी दिए ।

अभियान पहिलो दिन बुधवार वडा नं. ३ खार्दुबाट सुरुवात गरिएको थियो । आज दोस्रो दिन वडा नं. २ पुगेको अभियान टोलिले जनभेला कार्यक्रमको आयोजना गरेको नेकपा (माओेवादी केन्द्र) पचालझरनाले जनाएको छ ।

जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता देवराज शाही ‘अग्नी’ले आफुहरुले जनताको माया नभुलेको बताएका छन् । नेता शाहीले जनताको साथमा पालिका सरकार छ भन्दै गाउँपालिकाको विकासमा सरकार जहिले लागिरहने बताए ।

यस्तै माओवादी केन्द्र पचालझरनाका अध्यक्ष गौरी प्रसाद संज्यालले आफुलाई माओवादी बन्नुमा गर्भ भएको भन्दै संगठन निर्माणमा पालिका पार्टीले केहि नयाँ सोच बनाउनु पर्नेमा जोड दिए । अहिले पार्टीले संचाल गरेको यो अभियानले रुपान्तरण आफ्नो जिम्मेवारी भएको भन्दै उनले उत्साहजनक जन सहभागिता जनाउनु जनसमुदायहरुको कर्तव्य भएको बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा(माओवादी केन्द्र)की नेतृ तथा गाउँपालिका पूर्व उपाध्यक्ष तारा न्यौपानेले पार्टीले संचालन गरेको यो अभियानले जनता र पार्टीबीचको सम्बन्धलाई झन बलियो बनाउनेमा विश्वास व्यक्त गरिन् । कार्यक्रममा माओवादी नेताहरु मिना रावत, स्वर्णिम शाही लगायतको उपस्थिति रहेको थियो ।