उच्च शिक्षा रोजगारी खोज्ने भन्दा रोजगारी सिर्जना गर्ने हुनु पर्छः प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा रोजगारी खोज्ने भन्दा रोजगारी सिर्जना गर्ने हुनु पर्ने बताएका छन् ।

शुक्रवार मध्यपश्चिम विश्व विद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकार उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उदेश्यले नीति निर्माण र पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्ने कार्यमा प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले शिक्षा समाज र राष्ट्र रुपान्तरणको अभिन्न अंग हुनु पर्ने भन्दै मध्यपश्चिम विश्व विद्यालय स्थापना र यसको प्राज्ञिक मूल्य र मान्यता सहितको स्तरोन्नति विकास आफैमा चुनौतिपूर्ण कार्य रहेको उल्लेख गरे ।

विश्व बजारलाई ध्यान दिएर जनशक्ति उत्पादनलाई योजनाबद्ध रुपमा अघि बढाइयो भने मात्र उच्च शिक्षण संस्थाहरु सफल हुनेछन् भन्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेका अपार प्राकृतिक श्रोत र सम्पदा, विविधतायुक्त सामाजिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक आदि सन्दर्भहरुलाई ध्यानमा राखि आफ्नो अध्ययन, अध्यापन र अनुसन्धनलाई अघि बढाउन सके मात्र विश्वविद्यालय स्थापनाको औचिन्य पुष्टि हुने बताए ।

उनले मध्यपश्चिम विश्वविद्यालय आगामी शैक्षिक शत्रहरु मार्फत विद्यार्थीहरुको रोजाईको विश्वविद्यालय बन्दै जानेछ भन्नेमा विश्वास व्यक्त गरे ।
दीक्षान्त समारोहमा बिश्वबिद्यालयबाट ३ हजार ८ सय ४१ जना बिद्यार्थी दीक्षित हुने भए पनि ८ सय ८५ जनाले मात्र दीक्षित फर्म भरेका कारण शुक्रवार प्रधानमन्त्री ओलीको हातबाट दीक्षित भएका छन् ।

बिभिन्न ७ वटा बिद्यामा स्नातक तहमा २ हजार १ सय ८९ जना, स्नाकोत्तर तहमा १ हजार ६ सय ३३ जना र दर्शनाचार्य तहमा १९ जना गरी जम्मा ३ हजार ८ सय ४१ जना विद्यार्थीहरु बिश्वबिद्यालयका कुलपति केपी शर्मा ओलीको हातबाट दीक्षित हुने भनिएको थियो

यस्तै मत्तयपश्चिम बिश्वबिद्यालयले ९ वटा बिषयमा स्नातक तथा १३ वटा बिषयमा स्नाकोत्तर तहमा अध्यापन गराउदै आएको छ ।