लगातार नौ हारपछि नेपालको जित

२१ जुलाई २०२४ मा नेपालले अन्तिमपटक युएईलाई ६ विकेटले हराएको थियो, टी–२० आईमा लगातार नवौँ हारपछि नेपालले आइतबार युगान्डालाई एक विकेटले हरायो

लगातार नवौँ अन्तर्राष्ट्रिय खेलमा हारेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले जित निकालेको छ । नेपालले आइतबार चारदेशीय टी–२० आई सिरिजमा आयोजक युगान्डामाथि एक विकेटको जित निकालेको हो । जितसँगै नेपालले लगातार नौ खेलको हारमाथि पूर्णविराम लगाएको छ । नेपालले अन्तिमपटक २१ जुलाई २०२४ मा युएईमाथि ६ विकेटको जित निकालेको थियो । त्यसयता नेपालले महिला एसिया कप र त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजका सबै खेल गुमायो ।

युगान्डामा चलिरहेको चारदेशीय टी–२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटको हार सामना ग¥यो । त्यो नेपालको लगातार नवौँ हार थियो । नेपालको जितमा पूजा महतोले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनी ब्याटिङ र बलिङमा चम्किइन् । उनले बलिङका क्रममा चार ओभरमा १४ रन दिएर तीन विकेट लिइन् । कप्तान इन्दु बर्मा चार ओभरमा ८ रन दिएर दुई विकेट लिन सफल भइन् ।

आठ महिनापछि जित निकाल्ने क्रममा नेपालले युगान्डालाई अन्तिम बलमा स्तब्ध पारेको हो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा सात विकेट गुमाएर ७५ रनको झिनो योगफल खडा ग¥यो । सहज लक्ष्य पछ्याउँदा पनि नेपालले १९.५ ओभरमा नौ विकेट गुमाएर ७६ रन बनाउँदै सनसनी जित निकाल्यो । नेपालको जितमा डेब्यु खेलाडी सना प्रवीणले १७ तथा यू–१९ टोलीकी कप्तान पूजाले १६ रनको महत्वपूर्ण योगदान दिए ।

यसअघि नेपाल र युगान्डाबिच पाँच अन्तर्राष्ट्रिय टी–२० आई खेल भएको थियो । सन् २०२२ मा नेपालमै भएको सिरिजमा युगान्डाले ३–२ ले सिरिज हात पारेको हो । तीन वर्षपछि नेपालले युगान्डालाई हराएको हो । चारदेशीय सिरिजमा युगान्डाविरुद्ध जित निकाल्न नेपाललाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो । जोडी रिया शर्मा र ईश्वरी विष्टले आवश्यक रन जोड्दै नेपाललाई जित दिलाए ।

नेपालको कमजोर ब्याटिङ
युगान्डाविरुद्ध नेपालले एकरूपमा ब्याटिङ गर्न सकेन । यसकारण नेपालले सहज लक्ष्य पूरा गर्न इनिङ्सको अन्तिम बलसम्म कुर्नुपरेको थियो । नेपाल इनिङ्सको एक समय ६९÷९ को अवस्थामा थियो । युगान्डालाई जित निकाल्न एक विकेट आवश्यक थियो । नेपालको आशा रिया र ईश्वरीमाथि थियो । दुवैले अन्तिम ओभरमा संयमित ब्याटिङ गर्दै युगान्डाको योजना विफल पारे । नेपाल कुनै समयमा ३९–२ को सुदृढ अवस्थामा थियो । त्यसपछि नेपाल ५०–४, ५६–५, ६८–६, ६९–७, ६९–८ र ६९–९ को स्थितिमा रह्यो । नेपालले १ रनको अन्तरमा तीन विकेट गुमाएको थियो । पूर्वकप्तान रुविना क्षेत्रीले १९ रन बनाइन् । युगान्डाकी कप्तान जानेत बाबजीले चार ओभरमा १८ रन दिएर तीन विकेट लिँदै नेपालमाथि दबाब राखेकी थिइन् । कप्तान बाबजीलाई साथ दिँदै सारा बालाजाले दुई विकेट लिइन् । पहिलो ब्याटिङ गरेको युगान्डाले राम्रो प्रदर्शन गर्न सकेन ।

घरेलु टोलीकी ओपनर नकिसुयीले सर्वाधिक २२ रन बनाइन् । यसैगरी नाम्पिनाले १४ रनको योगदान दिइन् । यसबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । प्रतियोगितामा नेपाल, हङकङ, नामिबिया र युगान्डाबिच प्रतिस्पर्धा भइरहेको छ । नेपालले सोमबार आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्नेछ ।

सनाको डेब्यु
युगान्डाविरुद्धको खेलमा नेपाली टोलीबाट सना प्रवीणले डेब्यु गरिन् । उनी महिला टोलीबाट अन्तर्राष्ट्रिय खेल खेल्ने ३८औँ खेलाडी बनेकी छिन् । सिनियर महिलाबाट ३८औँ क्याप जितेकी सनाले युगान्डाविरुद्ध प्रभावशाली प्रदर्शन गरिन् । नेपाली यू–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यू–१९ विश्वकपको अनुभव बटुलेकी सना यसअघिको खेलमा बेन्चमा थिइन् । नामिबियासँगको पहिलो खेलमा ६ विकेटले पराजित हुँदा उनी बेन्चमा थिइन् ।