काठमाडौं । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन्
सिंहदरबारमा सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूको प्रश्न ’राजावादीको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ को जवाफमा प्रचण्डले सरकारी रबैयाका कारण उनीहरूले प्रदर्शन गरेको बताएका हुन् ।
सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको समेत प्रचण्डको भनाइ छ । ’राजावादीहरूको प्रदर्शनको काउन्टरमा जाने हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँका बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ?’ जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित नभएको पनि अध्यक्ष प्रचण्डले बताए ।
प्रचण्डले अगाडि भने, ’सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेसन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरुले त्यसलाई मौका पाएको जस्तो देखिन्छ ।’ अध्यक्ष प्रचण्डले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिले लिएकोसमेत बताए ।
नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको बताएका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने बताएका हुन् । आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।
झिल्को खबर । २७ फाल्गुन २०८१, मंगलवार ०६:४५