विश्वका सबैभन्दा धनाड्य व्यक्ति एलन मस्कको माइक्रोब्लगिङ साइट एक्स एकै दिन चारपटकसम्म डाउन भएको छ । डाउन डिटेक्टर वेबसाइटमा कयौं प्रयोगकर्ताले सोमबार एक्स डाउन भएको जानकारी गराएका थिए ।
वेबसाइट र अनलाइन सर्भिसको समस्यालाई रियल टाइममा ट्र्याक गर्ने उक्त वेबसाइटका अनुसार सोमबार पहिलोपटक दिउँसो साढे ३ बजे आसपास आधा घण्टासम्म र दोस्रोपटक साँझ ७ बजे आसपास एक घण्टासम्म एक्स डाउन भएको थियो । तेस्रोपटक राति पौने नौ बजेदेखि करिब साढे १० बजेसम्म र राति १२ बजेदेखि करिब साढे १२ बजेसम्म पनि एक्स डाउन भयो ।
धेरै प्रयोगकर्ताले लगइन गर्न समस्या भएको जनाएका थिए । उनीहरुले एप र वेबसाइट दुवैमा समस्या रहेको गुनासो गरेका थिए ।
युके, अष्ट्रेलिया, क्यानडा, भारत, नेपालसहित देशका प्रयोगकर्ताले एक्समा पहुँच स्थापित हुन नसकेको भनेर अन्य सामाजिक सञ्जालहरुमा लेखेका थिए ।
डाउन डिटेक्टरका अनुसार ४० हजार भन्दा बढी प्रयोगकर्ताबाट एक्स नचलेको गुनासो प्राप्त भएको थियो । ५० प्रतिशत प्रयोगकर्ताले वेबसाइटमा र ४० प्रतिशत प्रयोगकर्ताले एपमा समस्या रहेको जनाएका थिए । बाँकीले सर्भरमा समस्या भएको सूचना दिएका थिए ।
यसअघि २६ अप्रिल र २१ डिसेम्बरमा पनि एक्समा समस्या आएको थियो ।
एक्स (पुरानो नाम ट्वीटर)लाई सन् २००६ मा लन्च गरिएको थियो । एलन मस्कले सन् २०२२ मा यसलाई खरिद गरेका थिए ।
मस्कले एक्समार्फत् पटक–पटक साइबर आक्रमणको चुनौति झेलिरहेको जनाएका छन् । दिनहुँजसो साइबर आक्रमण हुने गरेकाले प्रयोगकर्तालाई लगइनमा समस्या भएको उनको भनाइ छ ।
स्टाटिस्टाका अनुुसार विश्वभर मासिक ६१.१ करोड जनाले एक्स चलाउँछन् । हरेक दिन ५० करोडभन्दा बढी पोष्ट हुने गरेको छ ।
एक्स एलन मस्क
झिल्को खबर । २७ फाल्गुन २०८१, मंगलवार ०७:०८