
काठमाडौं । प्रधानमन्त्री को एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै आज एपिएफले फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ।
एपिएफको जितमा कप्तान रोहित पौडेल र पुरन विकेको शतकीय साझेदारी प्रमुख बन्यो। एपिएफको यो छैटौं जित हो।
जितको लागि २ सय २४ रनको लक्ष्य पछ्याएको एपिएफले ४१ .५ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो।
ओपनर लोकेश बम २१ रनमा र अर्का ओपनर आशिफ शेख १८ रनमा आउट भए। एपिएफले ५० रन बनाउँदा २ विकेट गुमाएको थियो। यसपछि कप्तान रोहित र पुरनले तेस्रो विकेटको लागि १ सय २० रनको सानदार साझेदारी गरे।
यो नै एपिएफको सहज जितको आधार बन्यो। दुवैले अर्धशतकको सफलता प्राप्त गरे। यो ठूलो साझेदारीलाई राजेन्द्र बमले तोडे। उनले रोहितलाई देव खनालद्वारा क्याच आउट गराए। रोहितले ९४ बल खेल्दै ७ चौकाको मद्दतले ७१ रनको पारी खेले।
क्रिजमा टिकेका पुरनले सन्दीप जोरासँग चौथो विकेटको लागि अविजित ५७ रनको साझेदारी गर्दै एपिएफलाई जिततर्फ डोर्याए। पुरनले ९४ बल खेल्दै ६ चौका र १ छक्का सहित अविजित ७२ रन बनाए। सन्दीप अविजित २१ रनमा क्रिजमा रहे।
बलिङमा लुम्बिनीका राजेन्द्र बमले ५ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए। त्यसअघि एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २३ रन बनायो।
सम्राट भुसाल २३ बल खेल्दै ३ रनमा आउट भए। दोस्रो विकेटको लागि मृनाल गुरुङ र कप्तान देवले ५७ रनको साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए।
मृनालले ८१ रनमा र देवले ६४ बलमा अर्धशतक बनाए। ५५ रन बनाएका मृनाल मौसम ढकालको बलमा बोल्ड आउट भए। उनले ८७ बल खेल्दै ४ चौका प्रहार गरे।
देवले ७९ बलको सामना गर्दै ४ चौका सहित ६३ रन बनाए। देव अभिषेक गौतमको बलमा रोहितद्वारा क्याच आउट भए। यसपछि आकाश त्रिपाठीले २२ र प्रज्वल थापाले २० रन जोडे।
एपिएफका बलिङमा अमर राउटेला र अभिषेकले समान ३ र मौसमले २ विकेट लिए। आठ खेलमा छैटौं जित सहित एपिएफले १२ अंक बनाएको छ।
एपिएफ अंक तालिकाको तेस्रो स्थानमा छ। ७ खेल खेलेको पुलिस र ८ खेल खेलेको आर्मीसँग समान १४ अंक रहेको छ।
बाहिरिसकेको लुम्बिनीको भने लिग चरणको अन्तिम खेल हो। उसले ४ जित र ५ हारमा ८ अंक जोडेर यो पटकको प्रतियोगिता सकायो।
झिल्को खबर । ११ चैत्र २०८१, सोमबार १६:२४