नेप्सेमा सुधार, वित्त समूह तीन प्रतिशतभन्दा धेरैले बढ्यो

लगातार ओरालो लागेको सेयर बजारमा सोमबार सुधार देखिएको छ। नेप्से परिसूच २६.१० अंकले बढेर दुई हजार ६४०.१० विन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ०.९३ प्रतिशतले उकालो लागेको छ।

३२६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। नेप्से बढे पनि आज कारोबार रकममा भने ह्रास आएको छ। अघिल्लो दिन ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

आज नेप्सेका सबै समूहको सूचकमा वृद्धि देखिएको छ। वित्त समूह सर्वाधिक ३.५२ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन, जीवन बिमा, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

बजार बढ्दा सबैभन्दा धेरै बढेको गार्जिन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.२९ प्रतिशत कमाएका छन्। पोखरा फाइनान्स र समृद्धि फाइनान्स क्रमशः ७.४७ र ६.३० प्रतिशतले बढेका छन्। तर, अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले भने ४.२६ प्रतिशतले घटेका छन्।