
हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर कास्कीमा कांग्रेस र नेपाल विद्यार्थी संघबिच विवाद देखिएको छ । नेविसंघमा प्रतिनिधित्व गर्ने कास्कीका ११ केन्द्रीय सदस्यले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै कांग्रेस कास्की सभापति किशोरदत्त बरालमाथि निर्वाचनको नाममा चन्दा उठाएर अपचलन गरेको आरोप लगाएका छन् ।
नेविसंघका केन्द्रीय सदस्यहरू राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोइराला, विक्रमआदित्यसिंह गिरी, महादेव गिरी, राजीव बाँस्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर, गंगा गिरीले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई सम्बोधन गर्दै बराललाई कारबाही गर्न माग गरेका छन् ।
पत्रको बोधार्थ अनुशासन समिति, कांग्रेस कास्की, कांग्रेस गण्डकी प्रदेश कार्यसमिति र कांग्रेस केन्द्रीय कार्यसमितिलाई दिइएको छ । पत्रमा उनीहरूले स्ववियु निर्वाचनमा नेविसंघले संगठन र उम्मेदवारी दर्ता गर्न पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा केन्द्रीय प्रतिनिधिका रूपमा राजेन्द्र बराल र संस्कार कोइराला खटिए पनि कांग्रेस कास्कीका सभापति बरालको निर्देशनमा केन्द्रीय सदस्य रेजिना खड्काद्वारा घोषित सचिव पदका उम्मेदवार प्रशान्त उपाध्यायको मनोनयनपत्र च्यातेको आरोप लगाइएको छ ।
संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सचिवको आधिकारिक उम्मेदवार प्रशान्त उपाध्याय रहेको भन्दै क्याम्पसमा औपचारिक जानकारी गराएकोमा सभापति बरालले सचिव कायम नभए पनि निर्वाचनमा सहभागी हुनु भनी एमाले, माओवादी र क्याम्पस प्रशासनसँग संवाद गरी संघको अस्तित्व र समग्र संगठनलाई नै लिलाम बनाएको आरोप लगाइएको छ ।
पछि आफूहरूले सचिवसहितको नामावली प्रकाशनको माग गरी क्याम्पसमा तालाबन्दी गरेकोमा कांग्रेस कास्कीको नेतृत्वमा नेविसंघले लगाएको ताला संघका क्याम्पस इकाइ सभापति सौगात पण्डितलाई भनेर फुटाइएको दाबी गरिएको छ ।
झिल्को खबर । १५ चैत्र २०८१, शुक्रबार ०९:५८