आइपिएल–२०२५ः राजस्थानसँग चेन्नई ६ रनले पराजित

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो जित निकालेको छ । गुवाहाटीमा आइतबार भएको खेलमा राजस्थानले चेन्नईलाई ६ रनले हराएको हो । पहिलो ब्याटिङ गरेको राजस्थानले नौ विकेट गुमाएर १८२ रन बनाएको थियो । प्रत्युत्तरमा चेन्नईले २० ओभरमा ६ विकेटको नोक्सानीमा १७६ रन जोड्यो । चालू आइपिएलमा राजस्थानले तीन खेलमा दुई हार र एक जितका साथ २ अंक बनाएको छ ।

जिते पनि राजस्थानले स्थान सुधार्न सकेन । राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । पुछारको मुम्बई अंकविहीन छ । चेन्नईले लगातार दुई खेल गुमायो । यसअघि रोयल्स च्यालेन्जर्स बेंग्लोरबाट पराजित भएको थियो । अन्तिम ओभरमा चेन्नईलाई २० रन आवश्यक थियो । चेन्नईले केवल १३ रन मात्र बनाएको थियो । चेन्नईका लागि कप्तान ऋतुराज गैकवाडले सर्वाधिक ६३ रनको योगदान दिए ।

उनले ४४ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । रवीन्द्र जडेजाले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३२ रन बटुले । पूर्वकप्तान महेन्द्रसिंह धोनीले ११ बलमा समान एक चौका र छक्का प्रहार गरी १६ रन बनाए । राजस्थानका लागि बलिङमा वानिन्दु हसरंगाले ३५ रन खर्चेर चार विकेट हात पारे । यसअघिको ब्याटिङमा राजस्थानका नीतीश रानाले ३६ बलमा १० चौका र पाँच छक्का प्रहार गरी सर्वाधिक ८१ रनको योगदान दिएका थिए । कप्तान रियान परागले २८ बलमा ३७ रन जोडे ।

दिल्ली सात विकेटले विजयी

आइपिएलअन्तर्गत आइतबारै भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । दिल्लीले सनराइजर्स हैदराबादलाई सात विकेटले हरायो । पहिलो ब्याटिङ गरेको हैदराबादले १८.४ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । प्रत्युत्तरमा दिल्लीले १६ ओभरमा तीन विकेटको क्षतिमा १६६ रन जोड्यो । दिल्लीको जितमा फाफ डु प्लेसिसले २७ बलमा ५० रन बनाए । अभिषेक पोरेलले १८ बलमा ३४ तथा फ्रेसर म्याकगर्कले ३२ बलमा ३८ रन बटुले । दिल्लीका मिचल स्टार्कले ३५ रन खर्चेर पाँच विकेट लिएका थिए । हैदराबादको ब्याटिङमा अंकित बर्माले ४१ बलमा ७४ रन जोडेका थिए । हेन्रिक क्लासेनले १९ बलमा ३२ रनको योगदान दिएका थिए ।