एरिकासहितले अस्ट्रेलियन ओपन कराते खेल्ने

काठमाडौं । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेकि छ ।

शुक्रवारदेखि आइतवारसम्म हुने प्रतियोगितामा ४ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठले खेल्ने छन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।