वीरेन्द्रनगरमा खानेपानी संकटः अब ९६ घण्टामा एक पटक मात्र पानी आउने

सुर्खेत । वीरेन्द्रनगरमा फेरीपनि खानेपानीको संकट गहिरिँदै गएको छ । गर्मी समय सुरु भएसँगै पानीको चरम संकट निम्तिन थालेको हो । सुर्खेत उपत्यका खानेपानि संस्थाका अनुसार अब वीरेन्द्रनगरमा ९६ घण्टापछी मात्र पानी आउने छ । संस्थाले आज एउटा सुचना सार्वजनिक गर्दे संचालन व्यवस्थापन भैरहेको खानेपानी सेवा हाल भैरहेको लामो सुख्खा खडेरीका कारण प्रभावित भएको जनाएको छ ।

सुर्खेत उपत्यकामा सहज रूपमा खानेपानी आपुर्ति गर्नका लागि हाल दैनिक ३ सय ८८ लिटर प्रति सेकेन्ड खानेपानी आवश्यक रहेको अवस्थामा वर्षा र हिउँदको समयमा समेत् आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलामा ८६, खरिखोला बोरीखोलामा ३०, ईत्राम खोलामा २७ दुन्दुरे खोलामा ५ र खोर्के खोलामा १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५ सय ८ लिटर प्रति सेकेण्ड खानेपानी उपलब्ध भएको छ ।

तर हाल भएको लामो सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरूमा ह्रास आउन गई झुप्रा खोलामा ५० खरिखोला बोरीखोलामा २०, ईत्राम खोलामा १० दुन्दुरे खोलामा ५ र खोर्केखोलामा ५ लिटर प्रति सेकेण्ड गरी जम्मा १० लिटर प्रतिसेकेण्ड मात्र खानेपानी उपलब्ध भएको छ ।

सोहि कारणले तिनदिन बिरायर एक दिन – ९६ घण्टाको फरकमा खानेपानी वितरण गर्ने गरी वितरण समय तालिका बनाई खानेपानी वितरण गरीरहेको संस्थाले विज्ञप्ती मार्फत आज जानकारी गराएको छ । संस्थाले यसबाट उपभोक्ताहरू प्रति पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।