
अछाममा एक दृष्टिबिहीन महिलामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ५१ वर्षीय चेतमान रोकायाले जंगलमा लगेर बलात्कार गरेका हुन् । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर–५ का रोकायाले मंगलसेनस्थित पालेवन सामुदायिक वनमा लगेर २१ वर्षीया ति महिलालाई गत असोज २१ गते जबर्जस्ती करणी गरेका थिए । महिलाको पेटमा २८ हप्ताको गर्भ छ ।
गर्भवती भएको थाहा पाएपछि पीडित पक्षले यही चैत्र २६ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएको प्रहरी नायव उपरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए । ‘मंगलसेनकी महिला हुन्,’उनले भने,‘जन्मजात दृष्टिबिहीन उनीमाथि जंगलमा करणी भएको देखिन्छ । आरोपीलाई पक्राउ गरिसकेका छौं ।’ पक्राउ परेका रोकायले बयानका क्रममा घटना स्वीकार गरिसकेका छन् । रोकाय विवाहित हुन् ।
उनका ६ छोराछोरी तथा नातिनातिना छन् । उनी दायाँ खुट्टाको अपांग रहेको खुलेको छ । मंगलसेन नगरपालिका–१३ की पीडित महिला सदरमुकामस्थित एक विद्यालयबाट कक्षा १० उर्तीण गरेर मंगलसेन बजारमा बस्दै आएकी थिइन् । जिल्ला अपांग संघको बैठकमार्फत उनीहरुबिच मोबाइल नम्बर साटासाट भएको थियो । त्यो दिन उनले महिलालाई घुम्न जाउँ भनेर सँगै लगी सदरमुकाम मंगलसेनस्थित पालेवन सामुदाय वनभित्र लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीमाथि मुद्दा दर्ता गरेर कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने महिला लाई सुरक्षित आवास गृहको संरक्षणमा राखिएको डिएसपी भण्डारीले बताए । २८ हप्तासम्मको गर्भपत गराउने कानुनी व्यवस्था भएपनि अछामका कुनैपनि अस्पतामा यो सुविधा छैन । जिल्लामा रहेका अस्पतालहरुमा २८ हप्ताको गर्भपतन गराउने व्यवस्था नभएका कारण ति महिलालाई जिल्ला बाहिर सुविधा उपलब्ध अस्पताल पठाउनुपर्ने देखिएको छ । यसबारे थप छलफल र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झिल्को खबर । २७ चैत्र २०८१, बुधबार ११:४६