दुर्गा प्रसाईंलाई तीनकुने घटनाको मुख्य योजनाकारका रूपमा मुद्दा चलाइने

राजतन्त्र पक्षधरको प्रदर्शनमा वितण्डा मच्चाएर फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेलगत्तै प्रहरीले अदालतमा उपस्थित गराएको छ । बिहीबार भारतको आसाममा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार झापा हुँदै काठमाडौं ल्याएर जिल्ला अदालतमा पेस गराएको थियो । अदालतले १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

राजतन्त्रको पक्षमा गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई प्रसाईंले योजनाबद्ध रूपमा हिंसात्मक बनाएको प्रहरी निष्कर्ष छ । घटनाका योजनाकारका रूपमा उनीमाथि अभियोजन गर्ने प्रहरी तयारी छ । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान जानुको साथै निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । प्रदर्शनका कमान्डर प्रसाईं नै थिए ।

प्रहरीले संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा उनीमाथि अनुसन्धान अघि बढाएको छ । ‘अहिलेलाई संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा म्याद थप भएको छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले भने, ‘अनुसन्धानको क्रममा अन्य कसुर पनि आकर्षित हुने देखिएमा त्यहीअनुसार अभियोजन प्रक्रिया अघि बढ्छ ।’

प्रदर्शनकारीले तीनकुनको एक घरमा आगो लगाउँदा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सो घटनामा पनि प्रसाईंमाथि अनुसन्धान गर्ने प्रहरी तयारी छ । प्रहरीको विज्ञप्तिमा पनि त्यसको संकेत छ । जसमा भनिएको छ, ‘…पूर्वयोजनाअनुसार संगठित तवरले आपराधिक घटना घटाई मानिसको ज्यानै लिनेसमेतका आपराधिक कार्य गरी घटना वारदातपश्चात् भागी फरार रहेका तपसिलका दुई प्रतिवादीलाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट १२ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको  ।’

प्रसाईं प्रदर्शन भएकै दिन राति काठमाडौंबाट भागेर झापा हुँदै भारत गएको प्रहरीले जनाएको छ । उनी भागेको गाडी एक साताअघि नै प्रहरीले झापामा बरामद गरेको थियो । उनी भारतको लखनउ तथा दिल्लीसमेत पुगेकोमा पछिल्लो केही दिनयता आसाममा एक नेपालीभाषीको घरमा लुकेर बसेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनका सहयोगी दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईं पछिल्लो एक वर्षमा तेस्रोपटक पक्राउ परिसकेका छन् । पहिलोपटक साइबर अपराध र दोस्रोपटक आपराधिक लाभ मुद्दामा उनी पक्राउ परी अदालतबाट धरौटीमा छुटेका थिए । यसपटक सकेसम्म धेरै कसुर लगाउने प्रहरी तयारी छ ।